Fri, 03 Jul, 2020


काङ्ग्रेस महाधिवेशन ७ फागुनमै
फरकधार / असार १४, २०७७

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ ।    
    
पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको बैठकमा १४औँ महाधिवेशन निर्धारित समयमै गर्ने र अन्य अधिवेशनका तालिकामा भने हेरफेर गर्नेबारेमा छलफल भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।



सो निर्णय पार्टीको आगामी केन्द्रीय समिति बैठकबाट पारित गराउन काँग्रेसले यही असार १६ गते दिउँसो १ः०० बजे केन्द्रीय समितिको बैठक बोलाएको छ । काँग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहतका निकायका अधिवेशन र १४औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो ।    
    
सो तालिका अनुसार २०७६ फागुनदेखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्यसम्पन्न गर्ने अवधि तोकेको थियो ।    
    
उक्त कार्यतालिका अनुसार जिल्लामा क्रियाशील सदस्यता फाराम पुर्याउने काम भए पनि कोभिड–१९ का कारण वितरण र नवीकरण कार्य प्रभावित भएको थियो । काँग्रेसले १४औँ महाधिवेशनका लागि गाउँ/नगर वडा अधिवेशन आगामी कात्तिक १६ गते, गाउँ/नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो ।    
    
यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन आगामी मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका सार्वजनिक गरिएको थियो ।    
    
कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो । काँग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख भए पनि विधानकै अर्काे व्यवस्थाअनुसार एक वर्ष समयावधि यसअघि नै थप गरिसकिएको छ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्