याे समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले किन आवश्यक ठाने भारत कार्ड ?

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा भएको कार्यक्रममा दिएको अभिव्यक्तिको चर्चा केही समय अब पक्कै सेलाउने छैन । त्यहाँ उनले नेपालको नयाँ नक्सा ल्याएसँगै भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको बताएका थिए । अनि थपेका थिए– नेपालकै केही नेताहरु पनि भारतीय खेलमा साथ दिन लागिरहेका छन् ।

यो दाबीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको उनको कार्यकाल पनि सम्झिएका छन् । उनले यसअघि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेपछि आफ्नो सरकार ढलेको स्मरण गरेका हुन् । 

अनि उनले अहिले भारतीय मिडियामा अबको साता दिन तथा १५ दिनमा नेपालमा प्रधानमन्त्री फेरिने भन्ने चर्चा चलिरहेको जोडे । आफूले नेपालको खोसिएको जमिन ल्याउन खोज्दा आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको उनले बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो केही समय यता भारतविरुद्ध चर्को अभिव्यक्ति दिन थालेका छन् । २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि भारतले लगाएको नाकाबन्दीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहिचान बन्न थालेको छ– भारतविरोधी नेता । 

भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक समेटेर नेपालले नयाँ नक्सा पारित गरेपछि संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि भारतमाथि आक्रमण गरेका थिए । उनले संसदमा नै भनेका थिए– भारतले अब सत्यलाई साथ दिनुपर्छ, हामीले नयाँ नक्सा जारी गरिसकेका छौँ, अब पछाडि फर्किने भन्ने हुँदैन ।

यतिमात्र होइन, त्यही दिन उनले भारतबाट आएको कोरोनाभाइरस अरु देशबाट आएको भन्दा खतरानक भएको अभिव्यक्ति पनि दिएका थिए । उनका यी दुई अभिव्यक्तिलाई भारतीय मिडियाले पनि निकै आलोचनात्मक ढंगले हेरेका थिए । 



तर, अब प्रधानमन्त्री ओलीले झन् गम्भीर कुरा भनेका छन्– भारत उनलाई प्रधानमन्त्रीबाट हटाउन खोजिरहेको छ ।

आखिर भारतविरुद्ध बोल्दै जाँदा प्रधानमन्त्री ओली कसरी यो तहसम्म पुगे त ? यसका लागि उनको पार्टी नेकपा र जनस्तरमा भएको सरकारको आलोचनाको श्रृङ्खलालाई हेर्दा प्रष्ट हुन सकिन्छ ।



सबैभन्दा पहिलो कुरा त, प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको सचिवालयमा अहिले अल्पमतमा छन् । उनले ल्याएका केही अजेन्डाहरु पार्टीको सचिवालय बैठकमा अस्वीकार भएका छन् । 

यसअघि राजनीतिक दल विभाजनका लागि सहज हुने गरि अध्यादेश ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना उनको पार्टीभित्र झन् बढी हुन थालेको छ । कोरोनाभाइरससँगको सरकारको लडाइँमा भएका ओम्नी प्रकरण, यति समूहसँग सरकारको साँठगाँठका कारण पनि प्रधानमन्त्री ओलीलाई उनकै पार्टीका समर्थकले मन पराउन छाडेका छन्, उनको आलोचना गर्न थालेका छन् ।

अर्कोतिर, कोरोनाभाइरविरुद्ध सरकारको लडाइँमा देखिएको उदासिनताका कारण आम मानिसमा पनि ओली सरकारप्रतिको विश्वास झन् घट्दै गएको छ । सरकारले अन्य विषयमा पनि राम्रो काम गर्न नगरेको र यो समयमा भ्रष्टाचार झन् बढ्दै गएको आम बुझाइ छ । 

पार्टीका अन्य नेताहरुले आफूविरुद्ध मोर्चाबन्दी गर्नु, बालुवाटारमै सर्वसाधरण भेला भएर प्रदर्शन गर्न थाल्नु र आफ्नो आलोचना बढ्दै जानुले पछिल्लो समय प्रधानमन्त्री ओली आत्तिएको हुनुपर्छ । 

‘आफ्नो सरकारको सधैं बढाइँचढाइँमा व्यस्त प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकारका कामहरुबारे थप ढाकछोप गरेर मात्र नपुग्ने अनुमान गरेको हुनुपर्छ, त्यसैले यो भारत कार्ड प्रयोग भएको हुनसक्छ,’ नेकपाका एक स्थायी कमिटी सदस्यले फरकधारसँगको कुराकानीमा भने, ‘अन्यथा जनताले प्रधानमन्त्री बनाएको मान्छेलाई अर्को देशले हटाउन खोज्दैछ भन्नु कति बुद्धिमतापूर्ण हुन्छ ? यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहिले सोच्नु पर्ने थियो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको यस्तो अभिव्यक्तिले अहिले भारतसँगको सम्बन्ध थप बिग्रिने मात्र नभएर कूटनीतिक वार्ताका लागि गरिएको तयारीलाई पनि यसले असर गर्ने देखिएको बताए । 

‘प्रधानमन्त्रीले के बोल्ने, कहाँ बोल्ने भन्ने पहिले नै सोच्नु पर्ने कुरा हो,’ उनले भने, ‘पब्लिक फोरममा आफ्नो देशको विषयमा बोल्दा अर्को देशलाई प्राथमिकताका साथ राख्नुले नराम्रो हुनुबाहेक अरु केही हुनै सक्दैन ।’

यो अभिव्यक्ति आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार बन्दा भारतले सहयोग गरेको थियो कि भन्ने आशंका उब्जिएकाले त्यसलाई पनि सम्बोधन गर्नु पर्ने ती नेताको तर्क छ ।

‘अहिले सरकार ढाल्न भारत लागेको छ भने के हिजो सरकार बनाउँदा भारतको सहयोग मिलेको थियो,’ उनले भने, ‘किनकि एउटा स्वतन्त्र राष्ट्रको सरकार बनाउने र ढाल्ने त त्यहाँका जनताले हो, अरु देशले होइन । यस्ता विषयमा प्रधानमन्त्री ओली गम्भीर देखिनु भएन ।’

  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार ७:२१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया