लकडाउनपछिको पहिलो कारोबारमा १२ दशमलव ८७ अंकले घट्यो नेप्से
उत्पादनमूलक र जीवन बीमा समूहको परिसूचक भने बढ्यो

लकडाउनका कारण ९८ दिनपछि खुलेको सेयर बजार सोमबार पहिलो दिन नै १२ दशमलव ८७ अंकले घटेको छ । नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घट्दै ११ सय ८८ को विन्दुमा आएर बजार बन्द भएको हो । 


लामो समयपछि भएको कारोबारको पहिलो दिन बजारमा निकै उतारचढाव देखियो । बजार खुलेको ४० मिनेटमै ४ प्रतिशतको नकारात्मक प्रभाव परेपछि २० मिनेट कारोबार स्थगित भयो ।


बजारमा उत्पादनमूलक, जीवन बीमा तथा अन्य समूहका बाहेक सबै समूहका परिसूचक ओरालो लागेका छन् । दिउँसो ५१ अंकसम्म घटेको सेयर बजारमा सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक १ सय १ अंकले घटेको छ । 


यस्तै, विकास बैंक समूहको परिसूचक ६३ अंकले घटेको छ भने बजारमा प्रभुत्व भएको बैंकिङ समूहको परिसूचक २५ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूहको परिसूचक सोमबार १ सय २ अंकको वृद्धि भएको छ भने जीवन बीमा समूहको परिसूचकमा २ सय ३७ अंकको वृद्धि भएको छ । 


सोमबार १ सय ३० कम्पनीका ९ लाख ७६ हजार ७० हजार कित्ता सेयर किनबेच भएका छन् । बजारमा कुल ४८ करोड ५३ लाख १५ हजार ६ सय २७ रुपैयाँको कारोबार भएको छ । सोमबार बजार नेप्सेको निर्णयबमोजिम ४ घण्टा मात्रै संचालनमा ल्याइएको थियो ।

चार कम्पनीको सेयरमा सकारात्मक सर्किट 
सोमवार घटेको बजारमा पनि चार ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक सेयर र सर्वसाधारण सेयरमा सकारात्मक सर्किट लागेको हो । 




नागरिक लगानी कोषको सेयरमूल्य रू. १८८, हिमालयन डिष्टिलरीको रू. १२०, नेपाल इन्भेष्टमेण्ट बैंकको सर्वसाधारणतर्फको सेयरमूल्य रू. ३५ र संस्थापकतर्फको सेयरमूल्य रू. ३० ले बढेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको पहिलो कारोबारमै नकारात्मक सर्किट 



लकडाउनका बीच सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरी सूचीकृत गराएको नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा पहिलो कारोबारमै नकारात्मक सर्किट लागेको छ । पहिलो कारोबार ४ सय २४ रुपैयाँमा खुलेको कम्पनीको शेयर मूल्य विक्री सुरु भएको ४० मिनेटमै ४२ रुपैयाँले घटेर घटेको थियो । त्यस अवधिसम्म ९ दशमलव ९१ प्रतिशतले मूल्य घटेपछि सर्किट लागेको थियो ।

उक्त कम्पनीसँगै स्वावलम्वन लघुवित्त वित्तीय संस्था र आशा लघुवित्तको सेयरमूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । 
सोमबार स्वावलम्वन लघुवित्तका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । स्वावलम्वनको सेयरमूल्य रू. ११७ ले घटेको छ ।

  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १७:११:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया