काँग्रेस केन्द्रीय कार्य समिति बैठक : अन्य अधिवेशनको कार्यतालिकामाथि छलफल हुँदै

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्य तालिकामा हेरफेर गर्ने तयारी गरेको छ ।

काँग्रेसको आज दिउँसो बस्ने  केन्द्रीय कार्य समितिको बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४ औँ महाधिवेशन अन्तर्गतको प्रक्रियाका बारेमा छलफल हुने बताइएको छ ।

पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको आइतबार बसेको बैठकले काँग्रेसको १४ औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गते नै गर्ने र अन्य अधिवेशनका तालिकामा हेरफेर गर्न सकिने बारेमा छलफल गरेको थियो । सो विषयमा केन्द्रीय समिति बैठकले आवश्यक छलफल गरी निर्णय गर्ने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

काँग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहत निकायका अधिवेशन र १४ औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो ।
सो तालिकाअनुसार २०७६ फागुन देखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेको थियो । तर कोरोनाका कारण क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगित गर्नुपरेको थियो ।

काँग्रेसले १४ औँ महाधिवेशनका लागि गाउँ-नगर वडा अधिवेशन आगामी कात्तिक १६ गते, गाउँ-नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो ।

त्यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका सार्वजनिक गरिएको थियो ।
 





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार १४:२२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया