विदेशमा रहेकालाई ल्याउनेसम्बन्धी निर्देशिका बनाउँदै सरकार

 
चार्टर्ड उडानमार्फत स्वदेश फर्किन अनुमति दिइरहेको सरकारले बल्ल निःशुल्क उद्धारको गर्ने गरी ‘विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका’को मस्यौदा तयार गरेको हो ।
सरकारले भारत बाहेकका विभिन्न मुलुकबाट १२ हजार नेपाली स्वदेश फर्किसके पछि बल्ल उद्धारसम्बन्धी निर्देशिका बनाएको छ । 
विभिन्न कारणले स्वदेश फर्किन जरुरी रहेका तर रकम अभावमा फर्किन नसकेकाहरु अझै पनि विदेशमै अलपत्र छन् ।
सर्वोच्च अदालतले गत असार १ गते वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरेर समस्यमा परेका नेपाली श्रमिकलाई उद्धार गर्न सरकारलाई आदेश दिएको थियो । 
त्यसको कार्यान्वयनका लागि सरकारले उद्धारसम्बन्धी छुट्टै निर्देशिका तयार गरेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
अब निर्देशिकाले तोकेका मापदण्डभित्र पर्ने कामदारको टिकसहितका अन्य खर्च पनि सरकारले नै ब्यहोर्ने मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए । सरकारबाट श्रम स्वीकृति लिएर गएकाहरुलाई मात्रै निर्देशिकाले तोकेका सुविधाहरु प्राप्त हुने उनले बताए । 

बिरामी, सुत्केरी, अशक्त, रोजगारी गुमाएका, कम्पनीबाट टिकट नपाएका, आममाफी पाएका, काजकिरियाका लागि आउनुपर्ने लगायतका अवस्थाका कामदारको सरकारले निःशुल्क उद्धार गर्ने गरी मस्यौदा बनेको उनको भनाइ छ । 
 विदेशस्थित नियोगले अलपत्र कामदारको अवस्था अध्ययन गरी आवश्यक देखिएमा स्वदेश फिर्तीको निःशुल्क टिकट दिन सक्ने व्यवस्था प्रस्ताव गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

विदेशस्थित नेपाली नियोगले कामदारका लागि टिकट किनेको रकमको शोधभर्ना कल्याणकारी कोषबाट गरिने घिमिरेले जनाए । 
यो निर्देशिका स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको मन्त्रालयले जनाएको छ ।
निर्देशिकामा विदेश गएको एक वर्ष पनि नपुगेका र कमजोर आम्दानी भएका कामदारलाई निशुल्क टिकट दिन प्रस्ताव गरिएको छ । 
विदेश गएको एक वर्ष नाघेको र कम्पनीले पनि टिकट नदिने अवस्था भए सम्बन्धित कामदारले विदेश पुगेर काम गरेको अवधि र आय आर्जनको अवस्था हेरेर टिकटको ५० देखि ७५ प्रतिशतसम्म खर्च बेहोर्न सकिने खालको व्यवस्था पनि प्रस्ताव गरिएको घिमिरेले बताए ।

आफ्नै खर्चमा टिकट काटेर विदेशबाट फर्किसकेकाहरुले पनि यो सुविधा दाबी गर्न सक्नेछन् । त्यसका लागि भने दूतावासहरुले प्रमाणित गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
दूतावासले सहयोग दिनुपर्ने अवस्थाका कामदारको रुपमा सिफारिस गरेमा बोर्डबाट रकम दिने व्यवस्था गरिनेछ ।





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार १४:२०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया