कांग्रेस बैठकः तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसको मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । 

महाधिवेशनका लागि कांग्रेसले यसअघि जारी गरेको कार्यतालिका कोरोना महामारीका कारण प्रभावित भएपछि यथा समयमै महाधिवेशन गर्नेगरी कार्यतालिका परिमार्जन गरिएको हो । पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

यसअघि फागुन १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको कांग्रेस प्रवक्ता शर्माले जानकारी गराए । साउन मसान्तसम्ममा केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने निर्णय भएको छ । 

त्यसैगरी, पुस ७ गते देशैभरका ७ हजार वडाको अधिवेशन गर्ने, ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते र प्रदेशसभामा पुस ११ गते अभिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते र प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने निर्णय भएको छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको थियो । प्रवक्ता शर्माकाअनुसार प्रधानमन्त्रीले सोमबार दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ ।  





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार १८:३१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया