होटल सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीको माग

वीरगन्जका होटल व्यवसायीले होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ पर्साका प्रतिनिधिले बुधबार प्रमुख जिल्ला अधिकारी तथा वीरगञ्ज महानगरका मेयरलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाई यस्तो माग गरेका हुन् । 

 

संघका अध्यक्ष हरि पन्तसहितको व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की र मेयर बिजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा लकडाउनका कारण होटल तथा पर्यटन व्यवसायमा क्षति भएकाले अविलम्ब व्यवसाय सञ्चालनको वातावरण बनाइदिन आग्रह गरिएको छ ।

 

व्यवसायीहरुले नियमानुसार सामाजिक दुरी कायम गरी होटल रेस्टुरेन्ट क्षेत्रलाई तत्कालै खोल्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग समन्वयकारी भूमिका निर्वाह गर्नसमेत माग गरेका छन् ।



 

लकडाउनले गर्दा होटल तथा पर्यटन व्यवसायमा सञ्चालन हुन नसकेकाले महानगरपालिकाले लिँदै आएको घर बहाल कर, व्यवसाय कर तथा फोहोर कर पूर्ण रुपमा मिनाहाको मागसमेत ज्ञापनपत्रमा गरिएको छ । 



 

भाडामा संचालित होटलहरुको लकडाउन अवधिभरको भाडा पूर्ण मिनाहा एवम् त्यस पछि व्यवसायको स्थिति हेरी सामान्य अवस्थामा आइ नपुग्दासम्म आधा घरभाडा मिनाहाको लागि सम्बन्धित घरधनीहरुलाई आह्वान गर्न पनि संघले मेयरसँग आग्रह गरेको छ ।

 

सरकारले होटेल तथा रेष्टुरेन्ट बन्द राख्न निर्देशन दिएकाले आफूले खोल्ने अनुमति दिन नसक्ने प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

 

गृह मन्त्रालयलगायत अन्य सरोकारवाला निकायलाई वीरगञ्जका होटल व्यवसायीको मागबारे अविलम्ब जानकारी गराउने प्रतिबद्धता मेयर सरावगीले गरे ।

  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १७:४८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया