प्रधानमन्त्री केपी शर्मा आली निकटका केही नेता अहिले खुमलटारमा छन् । उनीहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न आज बिहान उनकै निवास (खुमलटार) पुगेका हुन् ।
उच्च स्रोतका अनुसार प्रचण्ड अहिले ओली निकटका नेताहरुसँग छलफल गरिरहेका छन् । बिहान ८ बजेदेखि नै छलफल जारी रहेको बताएको छ ।
छलफलमा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायका नेता सहभागी छन् ।
यसअघि बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग मात्रै बालुवाटारस्थित निवासमा छलफल गरेका थिए । त्यसको प्रतिक्रियास्वरुप प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले आफू निकटका नेताहरुसँग संयुक्त छलफल गरेका थिए । त्यो छलफल झम्सीखेलको एउटा रेस्टुरेन्टमा भएको थियो ।
गत हप्तादेखि नेकपाको स्थायी समितिको बैठक बसिरहेको छ । पछिल्ला बैठकहरुमा सदस्यहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निष्कर्ष निकालेका थिए । त्यसमा ३१ सदस्य सहभागी थिए ।
त्यसपछि स्थायी कमिटीका अरु सदस्यसँग पनि छलफल गर्ने भन्दै ओलीइतरका नेताहरु फर्किएका थिए । सोहीअनुसार प्रचण्डले आज बिहान ओली निकटका नेताहरुसँग छलफल गरेको बताइन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।