राजनीतिक दल विभाजन अध्यादेश ल्याउने र पार्टी फुटाउने मनस्थितिमा प्रधानमन्त्री ओली

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादको समाधान अब पार्टी फुटपछि मात्र समाधान हुने संकेत अनुमान गर्न थालिएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् बैठकबाट संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेपछि राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश केही दिनमा नै आउने अनुमान थप बलियो हुँदै गएको हो । 

यी आशंकामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिसँग भेटघाटका लागि शितल निवास पुगेका थिए । 

तर, त्यो भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश आउने कुरा अहिले तत्काल नभएको बताएकी छिन् । यही कुरा प्रधानमन्त्री ओलीले पनि अध्यक्ष प्रचण्डलाई बताएका थिए । 

तर, प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बताए पनि ओलीइतर समूह यसमा आश्वस्त हुन सकेको छैन ।

‘त्यस्तो हुँदैनथ्यो भने अहिले तत्काल संसद अधिवेशन अन्त्य गर्नुको कुनै अर्थ नै थिएन, अब बस्ने मन्त्रिपरिषद्बाट नै अध्यादेश ल्याउने तयारी गरिएको हो कि भन्ने लागेको छ,’ नेकपामा प्रचण्ड निकट एक नेताले फरकधारसँग भने, ‘यस्तो हो भने हाम्रो पार्टी विभाजन हुने पक्कापक्की छ ।’

एकातिर स्थायी कमिटी बैठक बसिरहेको समयमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अन्य नेताहरुसँग कुनै पनि छलफल नगरी मन्त्रिपरिषद् बैठकबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय पठाए । मन्त्रिपरिषद्ले निर्णय गरेको केही समयमा नै राष्ट्रपतिले संसद सचिवालयका महासचिवलाई संसद अन्त्यका लागि पत्र काटिन् ।



यसलाई दुई अध्यक्ष ओली र प्रचण्डबीच भएको समझदारी विपरित भएको बताइएको छ । बिहीबार विहानमात्र यी दुई अध्यक्षबीच भएको छलफलमा अहिले तत्काल संसद अन्त्य नगर्ने विषयमा समझदारी भएको थियो । 

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसँग भएको सम्झौताविपरित यो कदम चालेपछि यसलाई लिएर नेकपा सशंकित भएको छ । 



स्थायी कमिटी बैठकमा मात्र नभएर पार्टीका विभिन्न नेताहरुको छुट्टाछुट्टै बैठकमा नेताहरुले अब प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन् । उनले अब अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनु पर्ने माग नेताहरुको रहेको छ ।

‘तर, प्रधानमन्त्री केपी शर्मा ओली तत्काल राजीनामा दिने मुडमा छैनन्,’ उनीनिकट एक नेताले फरकधारसँग भने, ‘पार्टीभित्र सामान्य विवाद हुँदा राजीनामा दिनुपर्छ नै भन्ने पनि छैन ।’

‘यसअघि पार्टीका नेताहरुले त्यति लामो समय अध्यक्ष चलाउँदा मैले केही भनिनँ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको एक भेटमा भनेको कुरालाई उनले उद्धृत गरेका छन्, ‘अहिले मलाई जनताले काम गरोस् भन्ने चाहँदा पनि आफ्नै पार्टीका नेताहरु काम गर्न दिइरहेका छैनन्, त्यसैले यसमा डटेर लाग्नुको अरु कुनै विकल्प छैन ।’

उनका अनुसार ओलीले पछिल्लो समय आफूलाई काम गर्न नदिइएको गुनासो गर्नुका साथै अन्तिम विकल्पका रुपमा पार्टी विभाजन गरेर अगाडि बढ्ने सम्भावना बढ्दै गएको बताउन थालेका छन् । 

  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १९:८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया