पार्टी फुट्ने निश्चित भएको प्रचण्ड समूहको निष्कर्ष

पछिल्ला केही दिन यता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादका कारण नेपाल कम्युनिस्ट पार्टी फुट हुने सम्भावना प्रवल भएको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेताहरुले निष्कर्ष निकालेका छन् । 

बिहीबार स्थायी कमिटी बैठकमा समेत अध्यक्ष प्रचण्डले यही स्थायी कमिटी बैठक नै पार्टी फुटका लागि प्लेटफर्म बन्न सक्ने अभिव्यक्ति दिएका छन् । प्रचण्ड, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम एक पक्षमा भएपछि निकै दबाबमा परेका प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी विभाजनका लागि तयारी गरेको प्रचण्ड समूहको निष्कर्ष छ ।

प्रचण्ड तथा नेपाललाई समर्थन गरेका नेताहरु अहिले झन् प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीमा दम्भ बढ्दै गएकोमा रुष्ट पनि छन् । यस्तो हुनुको कारणमा उनीहरुले बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन अन्त्य गर्न लिएको निर्णयलाई आधार बनाएका छन् ।

बिहीबार विहान मात्र अध्यक्ष प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् बैठक नबोलाउने र संसद अधिवेशन पनि अन्त्य नगर्नेमा सहमति जनाएका थिए । तर, उनले प्रचण्डसँगको वाचालाई लत्याएर आफू अनुकूल निर्णयहरु गरे । यही कारण पनि पार्टीमा फुटको अवस्था झन् बलियो बन्दै गएको नेकपाका नेताहरु बताउँछन् । 

‘उहाँले बारम्बार पार्टी निर्णयहरु मान्ने बताउनु भएको हुन्छ तर अधिकांश समयमा उहाँ आफैं ती निर्णयबाट पछाडि हट्दै पार्टीको निर्णयलाई लत्याउँदै हुनुहुन्छ,’ नेकपाका एक केन्द्रीय सदस्य तथा प्रचण्ड निकट नेताले फरकधारसँग भनेका छन्, ‘यसको अर्थ उहाँले नै पार्टीलाई फुटाउने निर्णयमा पुग्नु भएको हो भन्ने निष्कर्ष निकाल्न सहज छ । त्यसैले उहाँले आफ्ना कमजोरी नसुधारेमा यसपटक पार्टी विभाजनलाई कसैले पनि रोक्न सक्ने देखिँदैन ।’

उता, केपी शर्मा ओलीनिकट एक नेकपा केन्द्रीय सदस्यले यो अवस्थामा जे पनि हुनसक्ने बताएका छन् । ‘परिस्थितिले राजनीतिलाई जहाँ पनि लैजान सक्छ, जे पनि हुनसक्छ,’ छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘यही अवस्था रहने हो र सबैले प्रधानमन्त्री ओलीलाई पेल्दै जाने भन्नेमात्र सोच्ने हो भने पार्टी फुट्नु के ठूलो कुरा भयो र ?’



नेकपा अध्यक्ष प्रचण्ड स्वयं पार्टी एकता गम्भीर संकटमा पुगेको निष्कर्षमा पुगेका छन् । यसपटकको स्थायी कमिटी बैठक सुरु हुँदा नै उनले शुक्रबार पहिलो प्रतिक्रिया दिएका थिए, ‘पार्टी फुटको संघारमा पुगेको छ ।’

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि पनि प्रचण्ड पार्टी फुटनजिक पुगेकामा सहमत छन् । उनले भनेका छन्, ‘पार्टी फुटका लागि अगाडि बढिसकेको छ ।’ उनको भनाइ उद्धृत गरेका ती नेकपा नेताले फरकधारसँग भने, ‘यस्तै अवस्था रहने हो भने पार्टी फुटलाई कसैले पनि रोक्न सक्दैन, पूर्वएमाले र पूर्वमाओवादी होइन, छ्यासमिस भएर नयाँ पार्टी गठन हुनसक्ने सम्भावना बढ्दै गएको छ ।’



  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १९:५४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया