हङकङमा राष्ट्रिय सुरक्षा कानुन ल्याएपछि चीनको निर्णयमाथि विभिन्न देशले चर्को आलोचना गरिरहेका छन् ।
बेलायतले अहिले बेलायतमा रहेका हङकङका ३० लाखभन्दा धेरै हङकङवासीलाई बेलायतमा नै बस्ने प्रस्ताव राखिसकेको छ । उता, अमेरिकाको प्रतिनिधि सभाले हङकङसँग सम्बन्धित अमेरिकाले लगाउने भनेका नयाँ प्रतिबन्धहरुलाई पनि स्वीकृति दिएको छ ।
प्रतिनिधि सभामा सर्वसम्मतीले केही प्रस्तावहरु पारित भएका छन् जसमा एउटा चिनियाँ अधिकारीहरुसँग मिलेर गरिएका व्यवसायमा अमेरिकी सरकारले अब जरिवाना लगाउने भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अब यो प्रस्तावमा हस्ताक्षर गर्नुभन्दा पहिले सिनेटमा पनि यो पारित हुनु आवश्यक छ । तर, यो पारित हुनेमा सबैले विश्वास गरेका छन् ।
उता, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ सुरक्षा कानुनका कारण हङकङको स्वतन्त्रता उल्लंघन भएको बताएका छन् । ज्ञ
बेलायत र अमेरिका यो विषयमा एउटै पक्षमा आएपछि चीनले कडा प्रतिक्रिया जनाएको छ । बेलायतमा रहेका चिनियाँ राजदूतले बेलायतले यसबारे कुनै प्रतिक्रिया दिन नहुने बताएका छन् । उनले बेलायती कदम रोक्नका लागि चीनले पनि कडा योजना बनाउने बताएका छन् । चिनियाँ राजदूत लियू शियाओमिङले भनेका छन् कि बेलायती यो कदम यी दुई देशबीच यसअघि भएका सम्झौताहरुको उल्लंघन हो ।
अर्कोतिर बेलायतले नयाँ निर्णय गरेसँगै अब साढे तीन लाख बेलायती पासपोर्टधारी तथा करिब २६ लाख अन्य मानिसहरु पाँच वर्षका लागि बेलायतमा आउन सक्ने प्रावधान ल्याएको छ । ६ वर्षपछि उनीहरुले बेलायती नागरिकताका लागि आवेदन दिनसक्ने बताइएको छ ।
हङकङमा रहेका बेलायती नागरिकहरु, जोसँग बेलायती पासपोर्ट छ, उनीहरुलाई सन् १९८० मा विशेष दर्जा दिइएको थियो । उनीहरु अहिले चाहिँ ६ महिनासम्म बेलायतमा कुनै भिसा नभए पनि रहन पाउने व्यवस्था छ ।
तर, अब बेलायती नियमले उनीहरुलाई बेलायतमा रहने अधिकार दिएको छ । ६ वर्षपछि त उनीहरुले बेलायती नागरिकताका लागि आवेदन पनि दिन पाउने भएका छन् ।
हङकङका लागि चीनले ल्याएको नयाँ सुरक्षा कानुनको जापान, अष्ट्रेलिया तथा क्यानडाले पनि अब विरोध गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।