प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको पछिल्ला दुईचार दिन यता दौडधूप निकै बढेको छ । केही दिन यता नै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बारम्बार भेटिसकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक घन्टौँ आफूनिकट नेताहरुसँग परामर्शमा छन् ।
त्यही बालुवाटारमा उनी आफूलाई अहिले समस्यामा पारिरहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरिरहेका छन्, वार्ता गरेर प्रचण्डलाई नरम बनाउन खोजिरहेका छन् ।
तर, स्थायी कमिटी बैठकमा यसपटक जे विषयमा कुराकानीहरु भइरहेका छन्, त्यसले ओलीलाई सहज वातावरणका साथ ल्यान्डिङ हुन दिने संकेत देखिँदैन । अधिकांश स्थायी समिति सदस्य तथा सचिवालय सदस्यहरु अहिले प्रधानमन्त्री ओलीविरुद्ध आवाज उठाइरहेका छन् । उनीहरु अधिकांशको माग छ– प्रधानमन्त्री ओलीले दुवै पद प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्छ ।
के प्रधानमन्त्री यसका लागि तयार हुन्छन् त ?
‘त्यो सम्भावना देखिँदैन, बरु प्रधानमन्त्री ओलीले कुनै बोल्ड मुभ लिन सक्ने सम्भावना बढ्दै गएको छ,’ शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा सहभागी भएका एक मन्त्रीले फरकधारसँग भने, ‘उहाँले हामीलाई आआफ्नो निर्णय गर्नुस्, आफ्नो पक्षको कुरा राख्नुस्, अब यो समयमा मैले यस्तै सोध्नु पर्ने भएको छ भन्नु भयो ।’
यी मन्त्रीको स्पष्ट संकेत थियो– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै विशेष मुभका लागि आफूलाई तयार पारेका छन् ।
आखिर पार्टीमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीका लागि त्यो मुभ के हुनसक्छ त ?
‘पार्टीमा यस्तै विषयहरु अगाडि आइरहेमा प्रधानमन्त्री ओली आफैं पार्टी फुटाउने मुभमा लाग्न सक्छन्,’ नेकपाका एक केन्द्रीय सदस्यको विश्लेषण छ, ‘आफूलाई समस्यामा पारेर पार्टी नेताहरुले काम गर्न नदिएको बुझाइ प्रधानमन्त्री ओलीको छ र उनी आफू अहिले पनि लोकप्रियताको सबैभन्दा माथिल्लो श्रेणीमा रहेको विश्वासमा छन् । त्यसैले अहिले ओलीले सोचेको विकल्प पार्टी फुटाउने हो भन्ने लाग्छ ।’
प्रधानमन्त्री ओलीले बारम्बार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नुको कारण पनि यही हुनसक्ने अनुमान बढेका छन् । प्रधानमन्त्री ओली पार्टीमा विवाद अन्त्यका लागि राष्ट्रपति भण्डारीसँग सहयोगको अपेक्षा गरिरहेका छन् । तर, नेकपामा अहिले प्रधानमन्त्री ओलीको ‘रवैया’ निकै बढेको भन्दै अन्य सचिवालय सदस्य तथा शीर्ष नेताहरु कम्प्रोमाइज नगर्ने पक्षमा देखिएका छन् ।
दुवै पक्षले आआफ्ना अडानलाई कायम राखिरहँदा प्रधानमन्त्री ओलीले आफूलाई सहज हुने गरि पार्टी विभाजन गर्न अध्यादेश ल्याउन सक्ने अनुमान अझ बलियो हुँदै गएको छ । यसअघि एक पटक यस्तो प्रयास गरिसकेका ओलीलाई अब अध्यादेश ल्याउँदा कुनै समस्या पनि हुनेछैन । ‘यसको अर्थ नेकपालाई अब फुटबाट कसैले पनि रोक्न सक्दैन भन्ने हो,’ नेकपाका ती नेताले भने, ‘जसरी कदमहरु अगाडि बढिरहेका छन् र नेताहरुबाट जुन अभिव्यक्ति आइरहेका छन्, यसले पार्टी विभाजन निश्चित जस्तै देखाइसकेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।