सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शक्ति संघर्षले निम्त्याएको टकराव थप पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूह आआफ्ना अडानमा अडिग भएपछि पार्टी विभाजनको मोडमा पुगेको टिप्पणी नेकपाकै शीर्ष नेताहरुले गरिरहेका छन् ।
यही विषयमा छलफल गर्न नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच आज वार्ता हुने भएको छ । प्रचण्ड सचिवालयका एक सदस्यका अनुसार आज दिउँसो प्रचण्ड र ओलीबीच भेटघाट हुने कार्यक्रम तय भएको छ ।
त्यसो त शनिबार पनि यी दुई अध्यक्षबीच भेटघाटको कार्यक्रम तय भएको थियो । तर, यो भेटघाट हुन सकेन । प्रचण्ड र नेपाल समूहका नेताहरु छुट्टै छलफलमा व्यस्त भए भने शनिबार प्रधानमन्त्री ओलीले आफ्नो समूहका नेताहरुसँग भेटघाट गरे । प्रधानमन्त्री ओली शनिबार नै राष्ट्रपतिसँग भेटघाटका लागि शितल निवास पनि पुगेका थिए । त्यसपछि उनले मन्त्री तथा राज्यमन्त्रीहरुलाई बोलाएर आफ्नो कित्ता क्लियर गर्न अनुरोध गरे ।
पार्टी अब एक रहिरहन सक्ने अवस्था नरहेको सन्देश ओलीले मन्त्रीहरुलाई दिएका थिए ।
पछिल्लो समय पार्टीमा देखिएको विवादको विषयमा नै प्रचण्ड र ओलीबीच आज भेटघाट हुन लागेको हो । ‘पार्टीमा देखिएको पछिल्लो विवाद मिलाउनु पर्छ भन्नेमा दुवै जना अध्यक्ष हुनुहुन्छ,’ प्रचण्डनिकट एक नेताले भने, ‘त्यसैले आज उहाँहरुबीच वान टु वान वार्ता हुन लागेको हो ।’ यो वार्ताले पार्टीमा जारी विवाद समाधान गर्ने अपेक्षा लिइएको छ ।
तर, यसअघि दुवै अध्यक्षहरुले आआफ्नो अडान लिएका छन् । त्यसैले आजको भेटघाटले पनि नेकपामा देखिएको शक्ति संघर्षमा युद्धविराम हुनेमा आशंका उब्जिएको छ ।
यसअघिको भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीसँग दुवै पद अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन आग्र्रह गरेका थिए । ओलीले प्रचण्डको यो आग्रहलाई ठाडै अस्वीकार गर्दै भनेका थिए, ‘राजीनामाबाहेक अरु कुरा गर्नुहोस् ।’
दुुई अध्यक्ष र दुई समूहबीच भएका विभिन्न छलफलले कुनै निष्कर्ष निस्किन नसकेपछि शनिबार हुने भनिएको नेकपाको स्थायी कमिटीको बैठक पनि स्थगित गरिएको थियो । अब स्थायी कमिटी बैठक सोमबारका लागि बोलाइएको छ । स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच हुन लागेको यो भेटघाटलाई महत्वका साथ हेरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।