तिलगंगाकाे वस्ती हटाइने

तिलगंगा आवास क्षेत्रको जग्गामा बनेका संरचनाहरु हटाइने भएको छ । काठमाडौँ महानगरपालिका-८ स्थित तिलगंगा आवास क्षेत्रको जग्गा तथा त्यहाँ बनेका पक्की, कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत हटाउन सूचना जारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।

पशुपति क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजनाअनुरुप संरचना निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउन लागिएको हो ।

जग्गाप्राप्ति ऐन २०३४ को दफा ६, ७ र ८ बमोजिम प्रारम्भिक कारबाही भई दफा १० अनुसार २०७० साल जेठ ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले अधिग्रहण गरेको सूचना जारी गरेको कोषले जनाएको छ ।

२०७१ वैशाख ५ गते त्यस क्षेत्रका अधिकांशलाई मुआब्जा दिइसकिएको र बाँकीलाई दिन लागिएको कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले बताए । मुआब्जा लिइसकेका सबैलाई ३५ दिनभित्र स्थान छोड्न कोषले अनुरोध गरेको छ । सूचनाको बर्खिलाप हुने गरी संरचना नहटाएमा कोषले प्रशासनको सहयोगमा हटाउने पनि उनले बताए ।​

तिलगंगामा मुआब्जा लिएर हट्नेलाई कोषले कागेश्वरी मनोहरा नगरपालिका-७ गोठाटारमा रहेको जग्गामा जग्गा विकास गरी न्यूनतम् मूल्यमा खरिद गर्नसक्ने व्यवस्था गर्न लागेको छ । गोठाटारमा जग्गा विकास गरी सडक, बत्ती, खानेपानी, टेलिफोन, ढल लगायत सबै पूर्वाधार सुविधा पुर्‍याउने तयारीसमेत भइरहेको छ । यसअघि पशुपतिको मुख्य क्षेत्रबाट अधिग्रहण गरिएकालाई पनि सिनामंगलमा जग्गा विकास गरी बस्‍ने व्यवस्था मिलाइएको थियो ।

तिलगंगाको जग्गामा भने गुरुयोजनाअनुसार विक्रान्त मन्दिर र नक्षेत्र मण्डल निर्माण गरी धार्मिक पर्यटक आकर्षित गरिने तयारी सुरु भएको छ । यस क्षेत्रमा हाल ७५ देखि ८० घर रहेका कोषले जनाएको छ ।





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार २०:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया