के प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा देलान् ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा पछिल्लो समय देखिएको शक्ति संघर्ष र नेकपा शीर्ष नेताहरुबीचको टकरावले नेपाली राजनीतिप्रति युवाहरुको वितृष्णा थप बढाएको छ । पाँच वर्षका लागि म्यान्डेट र संसदमा झन्डै दुईतिहाई सदस्य पाएको नेकपाले पहिलो पटक यस्तो घृणित राजनीति प्रस्तुत गरेको होइन । यसअघि पनि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यभार सम्हालेको दुई वर्ष बितेसँगै नेकपामा शक्ति संघर्ष चरम रुपमा देखिएको थियो । 

त्यति बेला नेकपाले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी बनाउँदै ओलीलाई सरकारको नेतृत्व गर्न दिने सहमति गरेको थियो । तीन महिनाअघि वैशाखमा पनि नेकपाका नेताहरुको शक्ति संघर्षका लागि रस्साकस्सी देखिएको थियो । तत्कालीन समयमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको आश्वासनपछि युद्धविराम गरिएको थियो । 

तर, तीन महिना नबित्दै यो युद्धविराम खलबलिएको छ । यसले गर्दा नेपाली राजनीतिमा नयाँ नयाँ सम्भावना र मोडहरु आउनसक्ने अनुमान गर्न थालिएको छ ।

र, यसको केन्द्रमा छन्, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली । उनलाई यो च्यालेन्ज दिइरहेका छन्, उनकै पार्टीका अन्य शीर्ष नेताहरु । 

नेकपा स्थायी कमिटीको बैठक जसै सुरु भयो, ओलीमाथि प्रहार नेकपाभित्रबाट नै बढी हुन थाल्यो । नेकपा स्थायी कमिटी बैठकमै नेकपाका अध्यक्ष प्रचण्डले ओलीलाई राजीनामा दिन अनुरोधसमेत गर्न थाले । भारतले र नेपालकै केही नेताहरुले आफूलाई हटाउन चलखेल गरेको ओलीको अभिव्यक्तिलाई क्रस गर्दै प्रचण्डले भने– भारतले होइन, मैले मागेको हो राजीनामा ।

प्रचण्डको यो अभिव्यक्ति आएपछि ओलीले आफ्नो तयारी तीव्र पारे । उनले झन् कडा अभिव्यक्ति दिए– ममात्र होइन, राष्ट्रपतिविरुद्ध पनि षडयन्त्र हुँदैछ ।



नेकपाका दुई ‘पाइलट’बीचको यो वाकयुद्ध अहिले तत्काल रोकिने देखिँदैन । किनकि अब प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डले आआफ्नो योजनालाई अन्य राजनीतिक दलका नेताहरुसँग पनि छलफल गर्न थालेका छन् । पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमको साथ पाएका प्रचण्ड अलिक दरिलो देखिँदैछन् । अनि ओलीले आफूइतर सबैलाई स्पष्ट सन्देश दिन सफल भएका छन्– म अहिले डगमगाउने वाला होइन । 

कहिले आफूनिकट नेताहरुलाई प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति भेट्न पठाएर त कहिले आफूलाई समर्थन गर्ने युवा नेताहरुलाई सडकमा अझ कडा आन्दोलन गर्न उर्दी जारी गर्दै ओली आफूलाई बलियो बनाउन प्रयास गरिरहेका छन् । अनि उनले यसका लागि अर्को अस्त्र पनि अगाडि सारेका छन्– राजनीतिक दल विभाजन गर्न सहज हुने अध्यादेश । 



यसअघि यही अध्यादेश ल्याउँदा ओली पार्टीमा अरु नेताहरुको तारो बनेका थिए । तर, त्यति बेला परिस्थिति उनको पक्षमा पर्यो, उनले यो अध्यादेशको खाँचो नेकपा नभएर राजपा फुटाउन ल्याएको बताए । ती दुई दिन नेपाली राजनीतिमा नसोचिएका घटनाहरु एकपछि अर्को पटाक्षेप हुँदै गए ।

तर, यसपटक स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने सदस्यको संख्या पहिलेको भन्दा बढेको छ । तत्कालीन समयमा २० जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीसँग बैठक बोलाउन आह्वान गरेका थिए, तीमध्ये केहीले मात्र प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए । यसपटक चाहिँ कम्तिमा पनि ३० जना स्पष्ट रुपमा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब दिइरहेका छन् ।

यो सब दबाबबीच ओली आफूलाई कमजोर बनाउने पक्षमा छैनन् । बरु उनी सकेका सबै प्रयासहरु गरेर अगाडि बढ्ने पक्षमा छन्, त्यसका लागि आफूनिकट नेताहरुसँग छलफल मात्र गरेका छैनन्, राष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ लिन थालिसकेका छन् ।

यहीबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अहिले पार्टीबाट असहयोग भएको भन्दै आफूले महाधिवेशनसम्म कुनै पनि पद नछोड्ने आफूनिकट नेताहरुलाई बताउन थालेका छन् । 

नेकपामा ओलीनिकट एक स्थायी समिति सदस्यले भने, ‘एउटा पार्टीभित्र भएको विवादका कारण सरकार नै समस्यामा पर्ने भन्ने हुँदैन, उहाँलाई संसदले प्रधानमन्त्री निर्वाचित गरेको हो र स्पष्ट रुपमा पाँच वर्षका लागि उहाँ प्रधानमन्त्री निर्वाचित हुनु भएको हो, त्यसैले अहिले बीचमा उहाँलाई छोड्नुस् भन्न सुहाउने कुरा नै होइन ।’

आइतबार अबेर साँझ फरकधारको सम्पर्कमा आएका ती नेताले पछिल्लो समय भइरहेको अनर्गल प्रचार र पार्टी नेताहरुले आफ्नो स्वार्थका लागि ओलीलाई अनेक आरोप लगाएकोमा पनि दुःख पोखे । 

‘नेपालले आफ्नो भूमि नक्सामा समावेश गरेपछि यो सबै भारतको डिजाइनमा भएको हुनुपर्छ,’ उनले भने, ‘अन्यथा अहिले यो समस्या उछालेर के गर्न खोजिएको हो भन्ने सबै जनताले पनि बुझेका छन् । अहिले त नेकपामात्रै एक हुनु पर्ने समय होइन, भारतसँग हाम्रो भूमि फिर्ता ल्याउन सबै पार्टीले साथ दिनु पर्ने समय हो ।’

तर, भारतले नेपालमा अस्थिरता चाहेको र यही कारण नेपाली राजनीतिलाई प्रभावित पार्न खोजेको उनको आरोप छ । ‘प्रधानमन्त्री फेर्दा वा नेपालको आन्तरिक राजनीतिमा दखल दिँदा भारतलाई फाइदा हुन्छ,’ उनले भने, ‘त्यसैले यो सब गरिएको हो । अन्यथा भारतीय मिडियामा आउने समाचार र नेकपाको स्थायी कमिटी बैठकमा उठ्ने सवाल एक हुँदैन थिए ।’

यसको अर्थ के ओलीले पार्टीमै माग गरिएको जस्तै दुवै पदबाट राजीनामा दिँदैनन् त भन्ने फरक धारको प्रश्नमा उनले आज मात्रै प्रधानमन्त्री ओलीसँग आफ्नो भेट भएको एक प्रसंग सम्झिए ।

‘यो सम्भव कुरा होइन,’ उनले भने, ‘पार्टीलाई विधि र विधानमा चलाउने हो भने नेकपा केन्द्रीय कमिटी बैठकले नै यसअघि नै महाधिवेशनको समय तोकेको छ, त्यति बेला मात्र यो विषयमा कुरा हुनुपर्छ । पार्टीले महाधिवेशनको समय तोक्ने अनि महाधिवेशन आउनुभन्दा पहिले नै अध्यक्षलाई राजीनामा देउ भन्दै अर्को पक्ष कुर्लिने पनि कुनै कुरा हुन्छ ?’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यही मनस्थिति बनाएको बताए । ‘कम्तिमा पनि महाधिवेशनसम्म उहाँले कुनै पनि पद छोड्नुहुन्न,’ उनले भने, ‘पार्टीमा विवादहरु हुन्छन्, ती विवादमाथि छलफल भएपछि कुनै ठोस निष्कर्ष पनि निस्किहाल्छ ।’

  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार २२:५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया