बालुवाटारमा ओली–प्रचण्ड भनाभन
फाइल तस्वीर ।

दुई वर्षअघि तत्कालीन एमाले र माओवादी एकताको समयमा पार्टीमा दुई अध्यक्ष प्रणाली व्यवस्था गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– हामी नेपाल कम्युनिस्ट पार्टी एउटा विमान हो भने त्यसको ककपिटमा भएका दुई पाइलट हौँ । 

तर, एकताका सबै कार्य पूरा नहुँदै यी दुई पाइलटले चलाएको विमानको ल्यान्डिङ कति सेफ हुँदैछ भन्नेमा अब बहस निस्किएको छ । र, यही विमानमा सवार अधिकांश नेताले नै निष्कर्ष निकालेका छन्– विमान दुर्घटनामा परिसकेको छ । 

विमानको यो आकस्मिक ल्यान्डिङ सेफ होला वा नहोला भन्नेमा अब आशंका झन् बढ्दै गएका छन् । विशेषगरि दुई अध्यक्षबीच पछिल्लो पटक देखिएको मनमुटावका कारण यो आशंकालाई थप बल प्रदान भएको छ । 

पछिल्ला केही दिन यता नेकपामा देखिएको सत्ता संघर्षका कारण नेकपाकै केही नेताहरुले सामाजिक सन्जालमा चरम असन्तुष्टि मात्र पोखेका छैनन्, जिल्ला र गाउँसम्मका कार्यकर्तामा हतास मानसिकता पनि देखिन थालेको छ ।

झन्, आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा जे भएको छ, त्यसले अब यो पार्टी एक रहिरहने सम्भावना क्षीण बनाउँदै लगेको छ । 

शनिबार पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विहान ९ बजे भेट्ने कार्यक्रम तय थियो । तर, विहान पौने नौ बजे प्रचण्डले ओलीलाई सन्देश पठाए– भेटघाटको कार्यक्रम १० बजे गरौँ । तर, यो भेटघाट पनि हुन सकेन । भेटघाट नभएपछि शनिबार लागि बोलाइएको स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरियो । 



आइतबार विहानै देखि दुवै अध्यक्ष आआफ्ना गुटका नेताहरुसँग सम्पर्कमा र छलफलमा व्यस्त हुन थाले ।

शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट भएपछि बोलाएको मन्त्रीहरुसँगको छलफलले प्रचण्डलाई झन् सशंकित बनाइदिएको थियो । त्यो छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई आफूविरुद्ध षडयन्त्र भएको बताएका थिए । सँगै उनले नेकपाका नेताहरुले नै राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी गरेको पनि दाबी गरेका थिए । त्यसपछि ओलीको मन्त्रीहरुलाई आग्रह थियो– कित्ताकाँट गर्नुहोस्, आआफ्नो पक्ष कुन हो निक्र्योल गर्नुहोस् ।



प्रधानमन्त्री ओलीले यसका लागि मन्त्रीहरुलाई दुई दिनको मात्र समय दिएका छन् । 

यसको अर्थ हो, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीलाई विभाजन गर्न मानसिक रुपमा तयार भएका छन् । उनले आफूमाथि अन्य नेताहरुको दबाब रहिरहेको खण्डमा आफू पार्टी विभाजन गरेर अगाडि बढ्ने संकेत गरिसकेका छन् ।

त्यही संकेत आइतबार विहान बालुवाटारमा भएको प्रचण्डसँगको भेटघाटमा पनि ओलीले प्रदर्शन गरेका छन् । 

आइतबार विहान प्रचण्ड नेकपाका दुई नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका थिए । त्यहाँ केही समय बिताएपछि प्रचण्ड दुवै नेताहरुसँग बालुवाटार प्रधानमन्त्री निवास पुगे । बालुवाटारमा प्रधानमन्त्री ओली आफूनिकट दुई नेताहरु शंकर पोखरेल र सुवास नेम्वाङसँगको छलफलमा व्यस्त थिए । प्रचण्ड आइपुगेको केही समयमा नै नेम्वाङ बालुवाटारबाट निस्किए र बुढानिलकण्ठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न हानिए ।

यता, राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने खोजिएको विषयले अध्यक्षद्वयको चर्काचर्की सुरु भयो ।

भेटघाटको सुरुमै प्रचण्डलाई पेचिलो शब्दमा प्रधानमन्त्री ओलीले भनेका थिए– ६ जना भेला भएर के गर्न खोजेको ?

प्रचण्डले पनि त्यतिबेला शान्त भएर जवाफ फर्काए– पार्टी फुटाउन खोजेपछि कसरी जोगाउने भनेर सल्लाह गरेको । 

भेटघाटमा संलग्न भएका एक नेताका अनुसार त्यसपछि ओलीले ठाडो जवाफ दिए– मलाई थाहा छ । 

ओलीको यो जवाफ खासमा राष्ट्रपतिविरुद्ध ल्याउने भनिएको महाभियोगबारे थियो । प्रचण्डले पनि यसलाई आफ्नै शैलीमा जवाफ फर्काएका थिए– अनावश्यक हावा कुरा नगर्नुस् ।

त्यसपछि प्रचण्डले यो हावा कुरा भएको र यस्तो विषयमा कुनै छलफल भएको भए प्रमाण पेश गर्न प्रधानमन्त्री ओलीलाई चुनौति दिए । उनले दिएको चुनौतिलाई कुटीलताका साथ प्रधानमन्त्री केपी ओलीले स्वीकारे र भने, ‘मलाई थाहा छ, मलाई सूचना आएको छ ।’

ओलीले त्यसमा थपेका थिए, ‘तपाईंहरु के गर्दै हुनुहुन्छ भन्ने मलाई प्रष्ट थाहा छ ।’

खुमलटारमा नेकपा सचिवालयका ६ सदस्यले छलफल गरेकोमा ओलीले अर्को असन्तुष्टि पोखेका थिए । स्रोतका अनुसार प्रचण्डले यो असन्तुष्टिमा अध्यक्ष नै पार्टी फुटाउन लागेपछि सल्लाह गर्न आवश्यक रहेकाले आफूहरुले सल्लाह गरेको बताएका थिए ।

प्रचण्ड र ओलीबीचको यो भेटमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन आफ्नै पार्टीमा षडयन्त्र भएको र भारतको डिजाइनमा यो गरिएको पनि प्रसंग उप्काएका थिए । उनका प्रत्येक सवालमा प्रचण्डले जवाफ फर्काएका थिए । 

यो संवादपछि अब सोमबार पनि यी दुई अध्यक्षबीच संवाद गर्ने सहमति भएको छ । 

यसका लागि गृहकार्य गर्न नेकपा महासचिब विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ ।

सोमबार लागि नै बोलाइएको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच वार्ता गर्ने तयारी रहेको बताइएको छ ।

  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार २२:४७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया