समन्वय नगरी सुरुङमा पानी पथान्तरण गरेकोमा स्थानीयको आक्रोश
रोयल्टीलगायत विवाद समाधान नगरे अवरोध गर्ने चेतावनी

मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले स्थानीय जनप्रतिनिधिलाई जानकारी नै नदिई एकातर्फी रूपमा पानी पथान्तरण गरेको भन्दै सिन्धुपाल्चोकका जनप्रतिनिधिले विरोध गरेका छन् । मेलम्चीको पानी पठाउने विषयमा कुनै समन्वय नभएको र त्यसबारे कुनै जानकारी नदिइएको भन्दै उनीहरू रुष्ट भएका हुन् । 

 

जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको अध्यक्षतामा सोमवार मेलम्चीमा सम्पन्न प्रभावित क्षेत्रका प्रतिनिधिको बैठकले रोयल्टीलगायतका विवादबारे छलफल नगरी पानी पथान्तरण गर्नु गलत भएको निर्णय गरेको हो । तत्काल खानेपानी आयोजनाले स्थानीय सरकारसँग छलफलको वातावरण बनाउँदै स्थानीयको माग सम्बोधन गर्नुपर्ने र रोयल्टीको विवाद समाधान गर्नुपर्ने प्रमुख तामाङले बताए ।

 

पानी पठाउने विषयमा आफ्नो कुनै आपत्ति नभएको, तर यस्तो काममा जनप्रतिनिधिलाई कुनै खबर नहुनुले आफू आश्चर्यमा परेको प्रमुख तामाङले बताए । ‘पानी सुरुङमा हालियो, तर यसबारे सिन्धुपाल्चोकका जनप्रतिनिधिलाई कुनै पनि जानकारी नदिईनुमा केही रहस्य पक्कै छ,’ तामाङले भने ।

 



स्थानीय सरकार नै नभएजस्तो गरी विनाजानकारी पानी लैजानु राम्रो काम नभएको उक्त क्षेत्रका सांसद् शेरबहादुर तामाङले बताए । आयोजना निर्माण सम्पन्न हुँदै गर्दा जिल्लालाई बाइपास गर्न खोज्नु मन्त्रालयको कमजोरी रहेको उनको भनाइ थियो  । खानेपानी आयोजनाले एकलौटी निर्णय गर्दै खोलामा कति पानी छाड्ने र कति काठमाडौं लैजाने भन्ने समेत किटानी नगरेको उनको आरोप छ । यसले रोयल्टीलगायत विवादलाई झनै चर्काउने उनले बताए ।

 



खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले आइतवार पत्रकार सम्मेलनमा स्थानीय अवरोधबीच पनि पानी सुरुङमा हाल्न सफल भयौं भन्ने भनाइप्रति आपत्ति व्यक्त गर्दै उनले आयोजनामाथि कसैले अवरोध नगरेको तर जिल्लाका प्रतिनिधिसँग समन्वय गरेकोमात्र विरोध गरेको बताए ।

 

ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष उपेन्द्र तामाङले खानेपानी आयोजनाले मजदूर र स्थानीय भेन्डरको भुक्तानी नगरी पानी लैजान खोज्नु मिचाहा प्रवृत्ति भएको बताए । ‘मजदूर र स्थानीय भेन्डरको भुक्तानी, लेबीको सुनिश्चितता नभई हामी पानी लैजान दिँदैनौं,’ तामाङले भने, ‘पानी लैजाँदा यहाँ सिँचाइ गर्न नपाउने, माझी जातिको माछा मारेर गर्ने जीवनयापनमा प्रभाव पर्ने देखिन्छ ।’ 

 

उनले स्थानीयको समस्या समाधान गर्न आयोजनाले ध्यान नदिएको भन्दै आक्रोश व्यक्त गरे । छलफलमा हेलम्बु, इन्द्रावती र पाँचपोखरी गाउँपालिकाका अध्यक्ष, मेलम्ची नगरपालिकाका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुख, ह्योसिमेसका पदाधिकारी र स्थानीय सरोकारवालाको उपस्थिति थियो । 


हेलम्बुको ध्यानाकर्षण
हेलम्बु गाउँपालिकाले मेलम्ची खानेपानी आयोजनाले विनाजानकारी सुरुङमा पानी हालेकोप्रति ध्यानाकर्षण भएको बताएको छ । सोमवार विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मुख्य सुरुङमा पानी हाल्नेजस्तो महत्त्वपूर्ण कार्यको जानकारी सञ्चारमाध्यमबाट मात्रै थाहा पाउनु गम्भीर विषय रहेको बताएका छन् ।

 

विज्ञप्तिमा ‘नेपालको संविधानको धारा २३२ ले सुनिश्चित गरेको तीनै तहको सरकारबीचको सम्बन्धको सिद्धान्तमा आधारित हुने भन्ने कुराको विपरीत भएको र स्थानीय सरकारलाई बेवास्ता गरेकोप्रति हेलम्बु गाउँपालिकाको ध्यानाकर्षण भएको’ उल्लेख छ ।

 

पालिकाले राष्ट्रिय गौरवको आयोजनामा स्थानीय सरकार र स्थानीयवासीलाई निरन्तर संलग्न नगराउने कार्यप्रति आपत्ति व्यक्त गर्दै यस्ता कार्यले असहज वातावरण सृजना हुने बताएको छ ।
 

  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १७:५०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया