काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीभित्रको विवादबारे मुख खोलेका छन् । उनले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने खतरा रहेको औँल्याएका छन् ।
आफू झम्सिखेल बैठकमा गएको र बोलेको कुरालाई बंग्याएर कुप्रचार गरिएको समेत उनले बताएका छन् । राष्ट्रिय सभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित केन्द्रीय सदस्यहरुको टोलीसँगको मंगलबारको भेटमा बादलले यस्तो बताएका हुन् ।
तत्कालीन माओवादी केन्द्रका तर्फबाट गृहमन्त्री बनेका थापा पछिल्लो समय प्रधानमन्त्री ओलीको पक्षमा रहेको खबर बाहिरिएको थियो । तर, प्रचण्ड पक्षले बोलाएको झम्सिखेल बैठकमा उनको उपस्थितिले उनी प्रचण्डकै पक्ष्ँमा रहेको आकलन गरिएको थियो ।
ओली पक्षका भट्टराईसहितको भेटमा उनले आफू कसैलाई निषेध गरेर जान हुँदैन भन्ने पक्षमा रहेको भनाइ राखेका थिए । झम्खिसेलको भेलामा आफ्नो सहभागितालाई लिएर गुटहरुबाट कुप्रचार गरिएको बादलको भनाइ थियो ।
भट्टराइसहित केन्द्रीय सदस्यहरु सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, जीवन बुढा र नरपति लोहारले बादललाई गृह मन्त्रालय पुगेर भेटेका थिए । उनीहरुमध्ये बुढा मात्रै प्रचण्डनिकट हुन् ।
झम्सीखेल बैठकमा बादललले आफू माधव–प्रचण्ड समूहमै रहेको र आवश्यक परे अब मन्त्रालय छाड्नुपर्ने अवस्था पनि आउन सक्ने बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।