विश्वलाई कोरोनाभाइरस महामारीले सताइरहँदा यसलाई षडयन्त्र देखेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।
लक्षणहरु देखिएपछि उनले सोमबार कोरोनाभाइरस परीक्षण गराएका थिए । यो उनको चौथौं कोरोनाभाइरस परीक्षण थियो । उनलाई ज्वरो आएपछि कोरोनाभाइरस परीक्षण गरिएको थियो ।
बोल्सोनारोले बारम्बार कोरोनाभाइरसले केही नहुने भन्दै ब्राजिलमा लकडाउन पनि लगाएका थिएनन् । त्यहाँका प्रदेशहरुले लकडाउन लगाएपछि विरोधमा निस्किएका र्यालीमा चाहिँ उनी देखिएका थिए ।
उनले बारम्बार कोरोनाभाइरसलाई भन्दै आएका थिए– सानो फ्लू । उनले कोरोनाभाइरसबाट कहिल्यै पनि ठूलो समस्या नआउने बताउँदै पनि आएका थिए । यतिमात्र होइन, पछिल्लो समय उनी सार्वजनिक स्थलमा पनि मास्क नलगाइ पुग्न थालेका थिए ।
उनले यो सबै भन्दा ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजारभन्दा कम थियो । त्यहाँ संक्रमितको संख्या ४० हजार पनि पुगेको थिएन ।
तर, अहिले ब्राजिल विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशको सूचीमा दोस्रो नम्बरमा आउँछ । अब ब्राजिलमा कोरोनाका कारण ६५ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ, १६ लाखभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा पनि राष्ट्रपति बोल्सोनारोले चाहिँ क्षेत्रीय रुपमा गरिएका लकडाउनले अर्थतन्त्र ध्वस्त पारेको भन्दै लकडाउनको विरोध गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।