के चिनियाँ राजदूतको सक्रियताका कारण नेकपा स्थायी बैठक सरेको हो ?
फाइल तस्वीर ।

११ असारदेखि सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक लगातार तेस्रो पटक स्थगित भएको छ । यसअघि आजका लागि तय गरिएको बैठक थप दुई दिनका लागि सरेको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार अब बैठक दुई दिन पछिका लागि सारिएको हो । 

नेकपामा पछिल्लो समय शक्ति संघर्षमा देखिएको नेताहरुको विवादका कारण यो बैठक बारम्बार सरिरहेको छ ।

तर, यहीबीच नेकपा नेताहरुसँगको भेटघाटका लागि बेइजिङको सन्देश पुर्याउन चिनियाँ राजदूत हाउ यान्छी पनि सक्रिय भएकी छिन् । जानकारहरु चीनले अहिले नेकपा पार्टीमा विभाजन नआओस् भन्ने चाहेको छ र यो सरकार पनि नढलोस् भन्ने चाहना छ । 

केही दिनअघि मात्र प्रधानमन्त्री ओलीले चाहिँ भारतले आफ्नो सरकार ढाल्न खोजिरहेको र त्यसमा नेपाली नेताहरुले पनि भारतलाई साथ दिएको अभिव्यक्ति दिएका थिए । त्यसपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल एक भएर प्रधानमन्त्री ओलीसँग कडा सर्तहरु राखेका छन् । ओलीविरुद्ध आवाज उठाइरहेको यो समूहमा अरु नेता पनि थपिएका छन् र उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिनु पर्ने माग राखिरहेका छन् । 

यही सन्दर्भमा चिनियाँ राजदूत हाउ यान्छीले नेकपा नेताहरुलाई भेट्ने क्रम बढाएकी छिन् । केही दिनअघि उनी माधवकुमार नेपालको निवासमा पुगेकी थिइन् भने मंगलबार मात्र उनी नेकपाका अर्का नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेकी थिइन् । 

यसअघि वैशाखमा पनि नेकपामा विवाद हुँदा राजदूत यान्छीले आफ्नो सक्रियता बढाएकी थिइन् । त्यति बेला उनले प्रधानमन्त्री ओलीसहित प्रचण्ड, नेपाल तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेकी थिइन् । त्यति बेला राष्ट्रपति भण्डारी र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच पनि कुराकानी भएको थियो । अनि नेकपामा तत्कालीन समयमा जारी विवादमा युद्धविराम भएको थियो । 



अहिले पनि नेकपामा विवाद निम्तिएको यो समयमा राजदूत यान्छीले आफ्नो सक्रियता बढाएकी छिन् । र, यही समयमा नेकपाको विवाद विस्तारै कम हुन थालेको हो कि भन्ने महसुस नेकपाकै कार्यकर्ता तथा नेताहरुले महसुस गर्न थालेका छन् ।

अनि बारम्बार नेकपा स्थायी कमिटी बैठक स्थगित पनि भइरहेका छन् । के यान्छीले अहिलेको विवाद मिलाउनका लागि सक्रिय भएसँगै नेकपा स्थायी कमिटी बैठक स्थगित हुँदै आएको हो त ? 



‘ठ्याक्कै त्यस्तो होइन, नेताहरुबीच अहिले संवाद चलिरहेको छ,’ नेकपाका एक स्थायी कमिटी सदस्य तथा ओलीनिकट नेताले भने, ‘उहाँले नेपाल र खनाल कमरेडलाई भेट्नु त भएको छ, तर यसको अर्थ नेकपाको पूरै आन्तरिक राजनीतिमा उहाँले आफ्नो प्रभाव जमाउन खोज्नु भएको होइन ।’

उनी यान्छीले सक्रियता बढाए पनि स्थायी कमिटी बैठक गर्ने नगर्ने चाहिँ शीर्ष नेताहरुको वाताको र सहमतीमा पुग्नका लागि गरिरहेको कसरतका कारण अहिले स्थायी कमिटी बैठक रोकिएको बताउँछन् ।

  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १०:३५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया