केही समयदेखि नेपालको सेयर बजारमा निरन्तर आइपिओ आउने क्रम जारी छ । १ सय रुपैयाँमा भर्न सकिने तथा केही दिनमै प्रतिफल लिन सकिने भएकाले पनि यसतर्फ सबैको चासो बढेको छ । त्यसैले पनि हाल मागको आधारमा कयौं गुणा बढी आवेदन परिरहेको छ ।
यसै क्रममा बजारमा बिहीबारदेखि अजोड इन्स्योरेन्सले पनि सर्वसाधारणका लागि आइपिओ विक्री गर्ने भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपिओ विक्री खुला गर्न लागेको हो । कुल सेयरमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले बताएको छ । बाँकी २७ लाख ३० हजार सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरिने कम्पनीको आइपिओ विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीको सेयर छिटोमा असार २९ गते र ढिलोमा साउन ८ गतेसम्म विक्रीमा रहने बताइएको छ । विक्री प्रबन्धकसँगै अजोड इन्स्योरेन्सको केन्द्रीय कार्यालय सुन्धारा र सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था छ । मेरो सेयर प्रयोगकर्ताले घरमै बसेर पनि आवेदन दिन सक्नेछन् । आइपिओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
हाल रू. ७० करोड चुक्ता पूँजी रहेको कम्पनीको आइपिओ विक्रीपश्चात रू. १ अर्ब चुक्ता पूँजी पुग्नेछ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म ३ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको भन्दा ३५ प्रतिशत बढी भएको हो । नयाँ तीन ओटा निर्जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिला अजोडले आइपिओ विक्री गर्न लागेको हो । अन्य दुई कम्पनीले पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।