एक्जिम कोड नवीकरणको म्याद थप गर्न  नाडाको आग्रह


नाडा अटोमोबाइल्स एसोसिएसनले एक्जिम कोड नवीकरणको म्याद थप गर्न आग्रह गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भेटी कोड नवीकरणको म्याद थप गर्न आग्रह गरेको हो । 

 

भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा राजस्व समितिका उपसभापतिसमेत रहेका दुलालले एक्जिम कोड नवीकरणको म्याद २०७७ साल असोज मसान्तसम्मका लागि थप गर्न आग्रह गरे  ।  

 

नेपालमा ३० हजार व्यावसायिक कम्पनीहरू एक्जिम कोडमा दर्ता रहेको र हालसम्म पनि बन्दाबन्दी कायम रहेको, सडकमा जोर–बिजोरका सवारीसाधन सञ्चालनमा रहेको, सर्वोच्च अदालतले जिरो आवरको घोषणा गरेको स्थितिमा नवीकरण कठिन भएको एसोसिएसनको धारणा छ । 

 



एक्जिम कोड नवीकरण गर्ने म्याद असार मसान्तसम्म मात्र रहेको छ । हाल नवीकरण गर्ने कम्पनी १ हजार ५ सय मात्र रहेको भन्दै उनले निर्धारित समयावधिभित्र सबैले नवीकरण गर्न नसक्ने जनाए । 

 



के हो एक्जिम कोड, कसले लिनुपर्छ, कसले पर्दैन ? 


अन्तर्राष्ट्रिय व्यापारका लागि एक्जिम कोड अनिवार्य छ । नेपाली व्यापारीले कुनै मुलुकमा समान पठाउनु पर्यो भने एक्जिम कोड अनिवार्य चाहिन्छ । अन्तर्राष्ट्रियस्तरमा वैध व्यापारका लागि यो कोड अनिवार्य भएको हो । आयात निर्यातमा संलग्न व्यापारीको पहिचान गर्न तथा सहजताका लागि निकासी–पैठारी संकेत नम्बर प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७३ अनुसार यो व्यवस्था लागू गरिएको हो । 

 

 एकपटकमा ५० हजारभन्दा कम मूल्यका सामग्रीहरू आयात गर्ने र ५ लाख रुपैयाँभन्दा कमको सामान निर्यात गर्नेका लागि भने यस्तो कोड आवश्यक छैन । उनीहरूले यो कोड नलिई आयात–निर्यात गर्न सक्नेछन् । व्यापारीको पहिचानसमेत रहने यस्तो कोडमा व्यापार सम्बद्ध कागजातहरु विद्युतीय प्रणालीमा आबद्ध हुनेछन् । 

 

सरकारले २०७३  माघ  १३ बाट नै व्यापारीहरूलाई यस्तो कोड लिन सकिने गरी अनलाइन दर्ताको व्यवस्था मिलाएको थियो भने २०७४ साउन १ गतेदेखि कोड वितरण गरेको थियो । 

 

व्यापारलाई निरन्तरता नदिनेले यस्तो कोड खारेज गर्न सक्नेछन् भने यसको नवीकरण आवश्यकताअनुसार ३ देखि ५ वर्षभित्रमा गर्न सकिने व्यवस्था छ । 
निर्देशिकाअनुसार सरकारी निकाय, सार्वजनिक संस्थान, सरकारी आयोजना, कूटनीतिक नियोग आदिले गैरव्यापारिक प्रयोजनका लागि निकासी वा पैठारी गर्दा वा सामान्यतया बिक्रीका लागि नभई आफ्नै प्रयोजनका लागि पैठारी गर्दा, दान, उपहार वा राहतका लागि पटके रूपमा पैठारी गर्दा संकेत नम्बर लिनुपर्ने आवश्यकता छैन । 

  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १३:४७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया