काठमाडौँ महानगरपालिकाले महानरपालिका क्षेत्रभित्रका सार्वजनिक जग्गामा पार्क बनाउने भएको छ । महानगरले अतिक्रमित सार्वजनिक जग्गा पहिचान गर्दै त्यसमा खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।
महानगरभित्रका अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने उदेश्यले यो आर्थिक वर्षको बजेटमा पार्क निर्माण, हरियाली प्रवर्द्धनलाई प्राथमिकतामा राखेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।
आर्थिक वर्ष ०७७÷७८ को बजेटमा महानगरले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका तीस भन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ । ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोड भन्दा बढी बजेट विनियोजन गरेको शाक्यले जानकारी दिए ।
महानगरले ०७७÷७८ को बजेटमा महानगर जेष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, जेष्ठ नागरिक आश्रम, सहिद पार्क, चेसपार्क, महानगर बाजे–बज्यै पार्क, महिला मैत्री पार्कलगायत योजना समावेश गरेको छ ।
महानगरले आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी न्ह्योखा पार्क, शान्ति नमूना पार्क, गौरीघाट हरियाली पार्क, धोबीखोला पार्क, त्रिपुरेश्वर ज्येष्ठ नागरिक पार्क, कुलेश्वर पार्क, कुलेश्वर आवास क्षेत्र पार्क, बागमती नगर पार्क, कुमारी पार्क, रानीबारी पोर्पा अजिमा पार्क, वडा नम्बर–२१ मा लगं पार्क, कमल पोखरी पार्कलगायको निर्माण कार्य सुरु गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।