महानायक बहस
‘राजेश हमालको महानायक उपाधि बाध्यकारी होइन, भावनात्मक हो’

करिब १५ दिनअघि कलाकार दीपाश्री निरौलाको एउटा टेलिभिजन अन्तर्वार्ता विवादमा पर्यो । पछिल्लो समयमा नेपाली फिल्म उद्योगमा अभिनेता राजेश हमालको उपस्थिति शून्य रहेको भन्दै उनले पाएको पाएको महानायकको उपाधि (ट्याग)माथि दीपाश्रीले प्रश्न उठाइन् ।

अन्तर्वार्तामा दीपाश्रीले राजेश हमाल नेपाली चलचित्र क्षेत्रको खम्बा भए पनि उनलाई महानायक नै भन्न नमिल्ने बताइन् ।

‘हिजो राजेश दाइ महानायक हुनुहुन्थ्यो, तर आज हुनुहुन्छ भन्ने लाग्दैन ।’ दीपाश्रीले बलिउडको उदाहरण दिँदै प्रश्न गरिन्, ‘अमिताभ बच्चन त आज पनि अभिनयमै हुनुहुन्छ । तर, राजेश दाइ खोइ ?’

दीपाश्रीको यस भनाइप्रति राजेशका अधिकांश फ्यानले विरोध जनाए । धेरैले उनीमाथि ट्रोल बनाए । यस विषयमा दीपकराज गिरीलाई समेत मुछियो । फ्यानहरुको प्रश्न थियो, ‘राजेश हमाल महानायक नभए के दीपकराज गिरी हुन् त ?' कतिपयले त दीपकराजलाई महानायकको उपाधि दिँदै व्यंग्य हाने ।

यस विषयमा राजेश लामो समयसम्म बोलेनन् । यद्यपि, उनले केही दिनअघि एउटा अनलाइन टिभीमार्फत दीपाश्रीलाई जवाफ दिन भ्याएका छन् ।

‘त्यो बेला धेरै चलचित्रमा काम गरेर वा म आफूले छनोटका आधारमा चलचित्रमा काम गरेर गल्ती गरेँ भन्ने मलाई लाग्दैन,’ उनले भनेका छन्, ‘बरु जसले मेरो विरोधमा आवाज उठाउनुभएको छ, उहाँ आफैँले बुझ्न आवश्यक छ, त्यो बेला मैले चलचित्र वा कलाकार छनोट गरिदिएको भए चलचत्रि ‘गाउँले’ र त्यसको गीत ‘गोली सिसाको’मा उहाँले अवसर पाउने अवस्था हुन्थ्यो जस्तो लाग्दैन । आज उहाँको परिचयको परिधि यति बृहत् बन्थ्यो जस्तो लाग्दैन ।’



यस विवादबारे अधिकांश कलाकार मौन छन् । यसैबीच, फरक धारले महानायकबारे बहस चलाउन चाह्यो । यसका लागि कलाकारको धारणा जान्न चाह्यो । यद्यपि, धेरै कलाकारले यस विषयमा बोल्न चाहेनन् । फरक धारले आफ्नो कोसिसलाई जारी राख्यो । जसमध्ये वरिष्ठ कलाकार नीर शाह, अभिनेत्री शर्मिला मल्ल र हास्यअभिनेता शिवहरि पौडेल मात्र तयार भए ।

वरिष्ठ कलाकार शाहले राजेश हमालले लामो कालखण्डदेखि नेपाली चलचित्र क्षेत्रको प्रतिनिधित्व गरेकाले उनले नेपाली समाजमा नायकत्व छोडेको बताए ।
राजेशलाई चलचित्र प्राविधिक संघले दिएको उपाधि भएकाले त्यसलाई सबै चलचित्रकर्मीले स्वीकार गरेको उनको भनाइ छ ।



‘राजेशजीलाई महानायक पद प्राविधिक संघले दिएको हो । त्यसलाई सबैले स्वीकार गरेका हौँ,’ नेपाली चलचित्र क्षेत्रमा दीपाश्री निरौलाको पनि उत्तिकै योगदान रहेको बताउँदै उनी भन्छन्, ‘यस विषयलाई लिएर विवाद नहोस्, यस्ता कुरा बेलैमा टुंगिनुपर्छ ।’

अभिनेत्री मल्लको तर्क पनि शाहको कुरासँग मिल्दोजुल्दो छ ।

‘राजेशजीलाई महानायकको ट्याग चलचित्र प्राविधिक संघले दिएको भए पनि समग्रमा यो पत्रकार र दर्शकले दिएको सम्मान पनि हो,’ उनी भन्छिन्, ‘जनता भनेका जनार्दन हुन् । भगवान् हुन्, त्यसैले यसलाई सबैले स्विकार्नुपर्छ ।’

राजेश हमाल महानायक हुन् या होइनन् भन्नेबारे हास्यकलाकार पौडेलले भने कूटनीतिक जवाफ दिए । 

‘महानायकले खेलेका चलचित्र क्वालिटी र क्वान्टिटी दुवै हिसाबले अगाडि हुनुपर्छ,’ उनले भने, ‘चलचित्र उद्योगमा उसले अरुले भन्दा बढी योगदान दिएको, बानी–ब्यहोरा राम्रो भएको, पढेलेखेको, ट्यालेन्ट र हिरोइज्म भएको हुनुपर्छ ।’ 

त्यसो भए राजेश हमाल महानायक हुन् कि होइनन् भन्ने प्रश्नमा शिवहरि पौडेलले भने, ‘शिव श्रेष्ठ, भुवन केसी र राजेश हमालमा ती गुण छन् । महानायक पनि उहाँहरुभित्रैबाट हो ।’

राजेश हमाल महानायक भए पनि आफूलाई अभिनयका हिसाले अन्य कलाकार मनपर्ने तर्क अभिनेत्री मल्लको छ ।

‘राजेश हमाल महानायक भनिएजस्तै भुवन केसीलाई पनि त सुपरस्टार भनिन्छ नि !’ उनी थप्छिन्, ‘यद्यपि, मलाई अभिनयमा खारिएका कलाकारचाहिँ कृष्ण मल्ल, नीर शाह र हरिवंश आचार्य लाग्छ ।’

हास्यकलाकार पौडेलले महानायक सर्वकालीन नै महानायक भइरहनुपर्ने तर्क गर्छन् ।

‘महानायक भएको व्यक्ति सधैँभरि नै महानायक भइरहन्छ,’ किनकि, ऊ नायकको पनि नायक हो ।’

वरिष्ठ कलाकार बहस टुंग्याउँदै भन्छन्, ‘राजेशजीलाई महानायक भनिनुु बाध्यकारी नभएर भावनात्मक कुरा हो ।’

  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १९:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया