घरमै आइसोलेसनमा बस्नेका लागि सरकारले बनायो मापदण्ड
प्रतीकात्मक तस्बिर

सरकारले कोरोना संक्रमित व्यक्ति घरमै बस्नका लागि मापदण्ड तयार गरेको छ । लक्षणविहीन र सामान्य लक्षण देखिएका संक्रमित घरमै आइसोलेसनमा बस्न मिल्ने गरी मापदण्ड जारी गरेको बताइएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ संक्रमितको आइसोलेसन सम्बन्धी स्वास्थ्य मापदण्ड २०७७’ जारी गर्दै घरमै बस्न पाउने व्यवस्था ल्याएको हो ।

 

मापदण्डमा संक्रमणको कुनै लक्षण तथा चिन्हहरू नभएका र सामान्य लक्षण तथा चिन्ह भएका संक्रमित व्यक्तिहरू आफ्नै घरमा आइसोलेसनमा राख्न र बस्न सक्नेछन् भनिएको छ ।मन्त्रालयले घरमै बस्न चाहने संक्रमितले पालना गर्नुपर्ने केही नियम भने तोकेको छ । मन्त्रालयका अनुसार घरमा बस्दा प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्नेछ ।


साथै उपचार अवधिभर बाहिर निस्कन पाइने छैन भने आवश्यक पर्ने सामग्री परिवारका सदस्यबाट मगाउनुपर्नेछ । यस्तै संक्रमितले प्रयोग गर्ने भाँडा सफा गर्ने र राम्रोसँग सुकेपछि मात्र पुनः प्रयोग गनुपर्ने मन्त्रालयको भनाइ छ । घरमा संक्रमितले छुट्टै स्नानघर र शौचालय प्रयोग गर्नुपर्ने र सामुहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा संक्रमितले प्रयोग गरेपछि डिस्इन्फेक्ट गरेपश्चात मात्र अन्यले प्रयोग गर्ने मापदण्डमा उल्लेख छ ।

 

त्यस्तै घरमा ६० वर्षमाथिका सदस्य वा गर्भवती तथा सुत्केरी माहिला छन् भने त्यस्ता व्यक्तिलाई संक्रमितको सम्पर्कबाट टाढा राख्नुपर्ने मन्त्रालयको  भनाइ छ ।



यस्तै संक्रमितले दैनिक तीनपटक ज्वारो जाँच्ने र त्यसको विवरण राख्नुपर्ने बताइएको छ । साथै परिवारका सदस्यले संक्रमितको स्वास्थ्य अवस्थाबारे दिनको कम्तीमा दुईपटक सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा मेसेज मार्फत वा भर्जुअल विधि तथा स्वास्थ्य मन्त्रालयले विकास गरेको मोबाइल एप्लिकेशन मार्फत जानकारी गराउनु पर्ने मन्त्रालयको भनाइ छ ।


त्यस्तै, संक्रमितमा श्वासप्रश्वासमा कठिनाइ भएमा, छाती दुखे वा भारी महशुस भएमा, ओठ तथा अनुहार निलो देखिएमा, होस हराएमा वा अन्य कुनै जटिल अवस्था देखिएमा परिवारको सदस्यले तुरुन्त स्वास्थ्यकर्मीलाई जानकारी गर्नुपर्ने समेत मापदण्डमा उल्लेख छ ।



 

यसको लागि स्थानीय तहमा खटिएका स्वास्थ्यकर्मीले संक्रमित व्यक्तिहरूको नियमित स्वास्थ्य अवस्थाको विवरण राख्नुपर्ने बताइएको  छ । हरेक स्थानीय तहले घरमा रहेका संक्रमितलाई हेरचाह गर्नको लागि ५० जना संक्रमित बराबर एक जना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
 

  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार १७:४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया