काठमाडौं– पाँच करोड रुपैयाँमा एक बौद्ध धर्मग्रन्थ बिक्री गर्न लागेको आरोपमा काठमाडौंबाट ६ जना पक्राउ परेका छन् । लामा भाषामा लिखित उक्त बुद्ध धर्मग्रन्थ खरिद बिक्री गर्ने तयारी गरेको सुराकी पाएर पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका ३ का ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका १ का ३१ वर्षीय सुबासकुमार बस्नेत, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी ४ का ३२ वर्षीय गेहेन्द्र सिंह आत्रेय छन् ।
पक्राउ पर्ने अन्य तीनजनामा ओखलढुंगा सुनकोशी गाउँपालिका २ का ३३ वर्षीय हरिबहादुर लामिछाने, काठमाडौँको तारकेश्वर नगरपालिका ११ का ६४ वर्षीय राजेन्द्रबहादुर जोशी र नुवाकोटको ककनी गाउँपालिका ८ का ३४ वर्षीय रोशन तामाङ रहेका छन् ।
प्रहरीले उनीहरुलाई काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डाबाट पक्राउ गरेको हो । सो ग्रन्थलाई उनीहरुले पाँच करोड रुपैयाँ मूल्य तोकेर कारोबार गर्न लागेको प्रहरीको दाबी छ ।
उनीहरुको साथबाट सुनौलो अक्षरले लेखिएको १६ पाना भएको बुद्ध धर्मको ग्रन्थ प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।