कोरोनाका कारण लामो समयदेखि बन्द सार्वजनिक यातायात संचालन गर्ने निर्णय सरकारले गरे पनि व्यवसायीले तत्काल संचालन नगर्ने बताएका छन् । काठमाडौं उपत्यकाका तीनै जिल्ला र अन्यमा जिल्लाभित्र संचालन गर्न दिने भनी सरकारले निर्णय गरे पनि व्यवसायीले कुनै सवारीसाधन संचालन गरेनन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले बस सन्चालनबारे औपचारिक निर्णय गरेपछि मात्र सञ्चालन गरिने व्यवसायीको भनाइ छ । हालकै व्यवस्थामा बस संचालन गर्न नसकिने यातायात व्यवसायीको भनाइ छ । सार्वजनिक सवारी साधन तत्काल निकाल्न सकिने वातावरण नरहेको महासंघका महासचिव सरोज सिटौलाको भनाइ छ ।
‘लामो समयदेखि गाडी ग्यारेजमा थन्किएकाले विभिन्न समस्या आउन सक्छन्,’ उनले भने, ‘लकडाउनका कारण चालक तथा सहचालकहरु अन्यत्र पुगेका छन् ।’ महासंघको बैठकले गरेको निर्णय लागु हुने उनले बताए । अहिले गाडीका प्राविधिक समेतलाई राखेर बैठक भइरहेको छ । सरकारले सिट क्षमताभन्दा आधा मात्र यात्रु राखेर भौतिक दुरी कायम गर्दै सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरेको छ । यसरी आधा यात्रु राख्दा यात्रुसँग थप ५० प्रतिशत भाडा लिएर संचालन गर्नुपर्नेछ ।
यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । मास्क नलगाएका यात्रुले सार्वजनिक यातायातका सवारी साधन चढ्न पाउने छैनन् । गाडीको ढोकामा स्यानिटाइजर राख्नुपर्नेछ भने सवारी साधन संचालन गर्नुअघि डिसइन्फेक्सन गर्नुपर्नेछ । यो सबै खर्च व्यवसायी आफैंले व्यहोर्नुपर्ने सरकारले बताएको छ । यसरी बस संचालन गर्दा खर्च उठाउनै नसकिने व्यवसायी श्रीधर नेपालको भनाइ छ । सार्वजनिक यातायात क्षेत्रमा कुनै राहत प्याकेज नल्याएको गुनासो गर्दै उनले भने, ‘यो व्यवस्थाले गाडी चलाउनुभन्दा हालै अवस्थामा थन्क्याउनु उचित हुन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।