के नेकपा विभाजन यसपटक टरेको हो ?

पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको शक्ति संघर्षको विवादमा केही मत्थर आएको शीर्ष नेताहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । 

लगातार दुई दिन नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दिएका अभिव्यक्तिलाई ख्याल गर्ने हो भने अब नेकपामा पछिल्लो समय देखिएको विवाद केही मत्थर भएको अनुभूत गर्न सकिने भएको छ । 

शुक्रबार प्रधानमन्त्री ओली र शनिबार प्रचण्ड दिएका अभिव्यक्तिको तालमेललाई तुलना गर्ने हो भने यो कुरामा प्रष्ट हुन्छ कि नेकपामा यी दुई अध्यक्षबीच कुनै सहमती भइसकेको छ । यो अहिले पनि रहस्यमा नै किन छ भने बिहीबार यी दुई नेताबीच बालुवाटारमा भएको भेटघाटमा के विषयमा छलफल भयो भन्ने बाहिर आएको छैन ।

शनिबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले भनेका छन्, ‘हतारमा कुनै निर्णय गरेर भोलि पछुताउनु परोस् भन्नेमा म छैन, देश र पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनका लागि अन्तिम समयसम्म धैर्यतापूर्व पहल गर्नेछु ।’

उनले पछिल्लो समय पार्टीमा अर्का अध्यक्षसँग भएको कुराकानीमा पनि यस्तै आशयमा कुराकानी भएको पनि बताएका छन् । यसको अर्थ हो, प्रधानमन्त्री ओली र प्रचण्ड अहिले तत्काल पार्टी विभाजन नहोस् भन्नेमा सहमत देखिएका छन् । 

किनकि शुक्रबार मात्र देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘पार्टीभित्रको विवादको विषयमा पनि छलफलबाट निकास निस्किनेछ ।’ यसका लागि अब थप केही समय लाग्ने उनले बताएका छन् ।



दुई अध्यक्षको एक दिनको मात्र अन्तरमा आएका उस्तै खालका अभिव्यक्तिले नेकपामा विभाजन अहिले टरेको नेकपाकै दोस्रो तहका नेताहरुलाई पनि आभास भएको छ । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका एक नेताले फरकधारसँगको कुराकानीमा भने, ‘पछिल्लो समय हामीले दुवै अध्यक्ष र पूरै पार्टी पंक्तिलाई अहिले तत्काल विभाजनमा नजानका लागि आग्रह गर्दै आएका छौँ, पार्टी विभाजनमा जानु भनेको देशमा ठूलो दुर्घटना निम्तिनु हो भन्ने सबैलाई थाहा नै छ ।’

उनले दुवै अध्यक्षले दिएको अभिव्यक्तिले पार्टीलाई अहिले तत्काल विभाजनबाट रोक्न सक्ने संकेत मिलेको पनि बताए । ‘पार्टीमा विवाद थियो तर विवाद हुनुको अर्थ पार्टी विभाजन गर्नु नै हो भन्ने चाहिँ थिएन, केही कुराहरु अलिक बढी भनिएका थिए,’ उनले भने, ‘छलफल र संवादबाट पार्टीमा सहमती निस्किनेमा हामी सबै ढुक्क हुनुपर्छ । भारतले समेत बारम्बार हामीलाई समस्यामा पारिरहेकाले यस्तो गर्दा नै हामीले पार्टी र देश दुवैलाई जोगाउन सक्छौँ ।’



बिहीबारको भेटमा प्रचण्ड र ओलीबीच केही सहमती भएको हुनसक्ने आशंका नेकपा नेताहरुले गरेका छन् । यस्तो भएको खण्डमा अहिले एक साताका लागि स्थगित नेकपा स्थायी कमिटी बैठक सुरु हुनेछ र बैठकले पनि ओली तथा प्रचण्डको सहमतीलाई नै स्वीकार गर्ने अनुमान गरिएको छ ।

  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार २२:३४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया