अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि मास्क लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । कोरोनाभाइरस महामारी सुरु भएपछि ट्रम्पले मास्क लगाएको यो पहिलो पटक हो । ट्रम्प वासिङटननजिकै एक मेडिकल सेन्टरको भ्रमणमा पुगेका थिए जहाँ उनले घाइते सैनिक तथा स्वास्थ्यकर्मीसँग भेटघाट गरेका थिए ।
यही कार्यक्रममा जाँदा नै ट्रम्पले पहिलो पटक मास्क लगाएका हुन् ।
यसअघि ट्रम्पले बारम्बार मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । यतिमात्र होइन, केहीअघि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनले मास्क लगाएको विषयमा पनि ट्रम्पले निकै कडा शब्दमा आलोचना गरेका थिए ।
तर, शनिबार जब ट्रम्प ह्वाइटहाउसबाट बाहिर निस्किँदै थिए, उनले मास्क लगाएका थिए । उनले अस्पताल जाँदा सबैले मास्क लगाउनु पर्ने पनि बताएका छन् । ‘म मास्कविरुद्ध कहिल्यै पनि थिइनँ, तर मलाई सधैं एउटा ठाउँ हुन्छ भन्ने लागेको थियो,’ ट्रम्पले भनेका पनि छन् । अमेरिकामा महामारी फैलिएपछि पहिलो पटक ट्रम्पले मास्क लगाएको देखिएपछि यसबारे सकारात्मक टिकाटिप्पणी भइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।