कोरोनाभाइरसपछि सुरु भएको पहिलो टेस्ट क्रिकेटमा वेस्ट इण्डिजले इंग्याण्डमाथि ४ विकेटको जित दर्ता गरेको छ ।
इंग्ल्याण्डले दिएको २०० रनको लक्ष्य वेस्ट इण्डिजले ६४.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।
वेस्ट इण्डिजका लागि जर्मेन ब्ल्याकउडले ९५ रनको उत्कृष्ट पारी खेलेका थिए । १५४ बलको सामना गरेका उनले १२ चौका प्रहार गरे । रोस्टन चेसले ३७ तथा शेन डोरविचले २० रनको योगदान दिए ।
इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३, कप्तान वेन स्टोकले २ तथा मार्क उडले १ विकेट हात पारे ।
जितसँगै वेस्ट इण्डिजले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
साउथह्याम्टनस्थित एगेस बोउलमा बुधबारबाट सुरु भएको टेस्टमा टस जितेर ब्याटिङ्ग रोजेको घरेलु टोली पहिलो पारीमा ६७.३ ओभरमा २०४ तथा दोस्रो पारीमा १११.२ ओभरमा ३१३ रन बनाउँदै अल आउट हुन पुगेको थियो ।
घरेलु टोलीका लागि पहिलो पारीमा कप्तान स्टोकले सर्वाधिक ४३, जोस वटलरले ३५, डोम बेसले अविजित ३१ रनको योगदान दिए ।
वेस्ट इण्डिजका लागि कप्तान जेसन होल्डरले ६ विकेट हात पार्दा शन्नोन ग्राबियलले ४ विकेट हात पारे ।
इंग्ल्याण्डका लागि दोस्रो पारीमा ज्याक क्राउलीले १२७ बलको सामना गर्दै ८ चौकाको मदतमा सर्वाधिक ७६ रनको योगदान दिए ।
डोम सिब्लेले १६४ बलको सामना गर्दै ४ चौकाको मदतमा ५० रनको योगदान दिँदा कप्तान स्टोकले ४६ रनको योगदान दिए ।
वेस्ट इण्डिजका लागि ग्राबियलले ५ अल्जारी जोसेफ र रोस्टन चेसले समान २ तथा कप्तान होल्डरले १ विकेट हात पारे ।
पाहुना टोलीे पहिलो पारीमा १०२ ओभर खेल्दै ३१८ बनाएर अलआउट भएको थियो । उसका लागि क्रेइग ब्रेथवेटले १२५ बलको सामान गर्दै ६ चौकाको मद्दतमा सर्वाधिक ६५ रनको योगदान दिए ।
शेन डोरविचले ११५ बलको सामना गर्दै ८ चौकाको मद्दतमा ६१ रनको योगदान दिँदा चेसले ४७ रनको योगदान दिए ।
घरेलु टोलीका लागि कप्तान स्टोकले ४, जेम्स एण्डरसनले ३, डोम बेसले २ तथा मार्क उडले १ विकेट हात पारे ।
अब दोस्रो टेस्ट १६ देखि २० जुलाईसम्म म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।