कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गर्ने तयारीमा सरकार
हालकै अवस्था र जनशक्तिबाट सञ्चालन गर्न नसकिने विज्ञको धारणा


सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको छ । तर, त्यसका लागि आवश्यक पर्ने शिक्षक लगायतको तयारी भने गरेको छैन । 

नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा अनिवार्य विषय थप गरिए पनि त्यसको अध्यापनका लागि आवश्यक पर्ने जनशक्तिबारे कुनै तयारी भएको छैन ।

नयाँ पाठ्यक्रम अध्यापनका लागि विद्यालयमा स्नातकोत्तर तह उत्तीर्ण शिक्षक चाहिन्छ । हाल स्नातक तहको जनशक्तिले कक्षा १० सम्म अध्यापन गराउँदै आएका छन् । माथिल्लो कक्षामा पढाउन माथिल्लो शैक्षिक योग्यता भएको जनशक्ति चाहिने सरोकारवालाको भनाइ छ । 

विद्यालय तहमा ५३ हजार शिक्षक आवश्यक पर्ने प्रतिवेदन सरकारलाई बुझाए पनि यसतर्फ कुनै प्रयास नभएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले बताए । कक्षा ११ मा अनिवार्य विषय दुईबाट तीनवटा गरिएपछि विद्यालयमा स्वतः माथिल्लो शैक्षिक योग्यताको शिक्षक आवश्यक पर्ने उनको भनाइ छ ।

शिक्षक थप नगर्ने तथा शिक्षकलाई अध्यापनका लागि आवश्यक तयारीसमेत नगरिएको अवस्थामा पठनपाठन प्रभावकारी हुन नसक्ने उनले बताए । 

कक्षा ११ मा यस पटकबाट नेपाली र अङ्ग्रेजीका साथै सामाजिक विषयसमेत अनिवार्य गरिएको छ । सामाजिक विषय धेरै बोझिलो बनाइएको र नेपालीमा अध्यापन गर्नुपर्ने प्रावधानबाट यसको कार्यान्वयनमा जटिलता आउन सक्ने सरोकारवालाको भनाइ छ ।



आवश्यक शैक्षिक योग्यता नपुगेको तथा अभिमुखीकरण समेत नगरिएका शिक्षकलाई चलिहाल्छ नि भन्ने हिसाबले माथिल्लो कक्षामा पढाउन दिँदा यसले नेपालको शिक्षा क्षेत्रमा दीर्घकालीन समस्या ल्याउने विज्ञहरुको विश्लेषण छ । 


निजी शैक्षिक संस्थाले पनि यस विषयमा आवश्यक तयारी गर्न नभ्याएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन)का अध्यक्ष ऋतुराज सापकोटाको भनाइ छ । कक्षा ११ मा स्नातकोत्तर तहको शिक्षकबाट अध्यापन गराउनुपर्ने भएकाले यसका लागि केही तयारी आवश्यक पर्ने उनले बताए । 



हाल कक्षा ९ र १० मा अध्यापन गराउने योग्यता पुगेका शिक्षकलाई माथिल्लो तहमा कक्षा दिनुपर्ने अवस्था रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले बताए । कक्षा ११ र १२ सञ्चालन गरेका विद्यालयलाई सरकारले शिक्षक अनुदानका रूपमा समेत सहयोग गर्ने गरेकाले यसबाट तत्काल शिक्षक अभाव पूरा गर्न सकिने उनको भनाइ छ । 

विद्यालय तहमा शिक्षकको दरबन्दी मिलान पूरा भएपछि थप शिक्षक आवश्यक परेको अवस्थामा नयाँ दरबन्दी थप गर्ने योजना रहेको निर्देशक गौतमले जानकारी दिए । 
 

  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार १७:३५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया