सन्जोग कोइरालाले खासमा युट्युब प्लेटफर्मलाई कुनै समय सामान्य सोचेका थिए । विभिन्न व्यवसायमा लगानी गरेका र फिल्मी क्षेत्रमा पनि ‘दौडिन’ खोजेका सन्जोगका लागि अहिले त्यही युट्युब प्लेटफर्म सबैभन्दा भरपर्दो माध्यम भएको छ, आफ्ना व्यक्तिगत विचार राख्न र दैनिकी सेयर गर्न ।
केही अघिको प्रसंग हो । सन्जोगकी श्रीमती तथा अभिनेत्री वर्षा रावत विवादमा तानिइन् । त्यति बेला नेपालको संसदले नेपालको नयाँ नक्सा पारित गरिसकेको थिएन । तर, भारत र नेपालका मिडियामा नेपालले जारी गरेको नयाँ नक्साको विषयमा व्यापक बहस सुरु भइसकेको थियो ।
ठ्याक्कै त्यही समयमा एक अन्तर्वार्तामा वर्षाले उता र यताका मिडियाले यो विषयमा भिडिरहँदा आफूलाई भारतीय साथीहरुसँग फेस गर्न अप्ठ्यारो भएको अभिव्यक्ति दिएकी थिइन् । यसको व्यापक आलोचना भयो । मिडियाकर्मी, सर्वसाधरणमात्र होइन, कलाकर्मीहरुमा पनि कसैले वर्षाको आलोचना गरे भने कसैले उनको समर्थनमा बोले ।
यही सेरोफेरोमा वर्षाका श्रीमान् सन्जोगले के भन्लान् भन्ने प्रतीक्षाको विषय बन्न थालेको थियो, किनकि उनकै युट्युब च्यानलमा पनि केही मानिसहरुले उनको समेत विरोध गर्न थालेका थिए ।
अनि वर्षालाई समर्थन गर्दै सन्जोग आइपुगे, आफ्नै भ्लगमा, अर्थात् आफ्नै युट्युब च्यानलमा ।
यसको अर्थ हो, अहिले सन्जोगले ‘रमाइलोको लागि मात्र भ्लगिङ’ गरिरहेका छैनन्, आफ्नो विचार राख्नका लागि पनि त्यही युट्युब च्यानल प्रयोगमा ल्याएका छन् ।
‘खासमा त मैले युट्युबमा च्यानल बनाएको भिडियोमा सम्झनाहरु कैद गरौँला भनेर मात्र खोलेको थिएँ,’ सन्जोगले अरु केही कलाकारसँग मिलेर सुरु गरेको चिया अड्डामा सुनाए, ‘हाम्रो परिवारमा फोटो खिच्ने ट्रेन्ड छँदै थियो, भिडियो त्यसैको एक्सपान्सन मात्र हो ।’
विश्वभर मानिसहरु अहिले आफ्ना सुन्दर क्षणहरु सामाजिक सन्जालमा सेयर गरिरहेका हुन्छन् । सुन्दर पलहरुको एउटा अर्काइभ गर्ने स्थान बनेको छ, सामाजिक सन्जाल । सन्जोगलाई युट्युब पनि त्यही अर्काइभिङको ठाउँ लाग्छ, भिडियो अर्काइभिङको ।
त्यसैले हुनुपर्छ, सन्जोगले विवाहपछि पहिलो भिडियो नै युट्युबमा राखेका थिए– आफ्नै विवाहको ।
अनि आफ्नो युट्युब च्यानलको नाम पनि उनले त्यसैगरि मिलाएर राखेका छन्, आफ्नो र वर्षाको नामका अक्षरहरुबाट । सन्जोगबाट ‘सन्’ र वर्षाबाट ‘षा’ झिेकर बनाइएको उनको युट्युबको नाम हो– सन्सा ।
अब त ‘सन्सा’ सन्जोगको खास ‘एसेट’ बनिसकेको छ । अनि कलाकार, निर्माता र व्यापारी सन्जोगको नामको अगाडि थपिन थालेको छ, अर्को विश्लेषण– भ्लगर ।
र, यो च्यानलमा उनीहरुले अपडेट गरेका केही भिडियो त १५ लाखभन्दा बढीले हेरेका छन् । अनि यही च्यानलबाट सन्जोगले ‘थोरैथोरै’ कमाउन पनि थालेका छन् ।
अहिले सन्जोग र वर्षा दुवैलाई चर्चाको शिखरमा राखिरहेको यो च्यानल सुरु गर्दा सन्जोगले यसलाई राम्रै प्लेटफर्मका रुपमा लिएका थिए । ‘आफ्नो महत्वपूर्ण क्षण कभर गर्न पनि सक्ने र बोल्न मन लागेको कुरा भिडियोमा नै प्रिजेन्ट गर्न सक्ने भएकाले म सुरु देखि नै यसमा हौसिएको थिएँ,’ सन्जोग भन्छन्, ‘त्यसैले पनि यसले उनलाई निकै खुसी दिएको छ ।’
‘मलाई त अहिले डिजिटलाइजेसनको यो समयमा हरेक मान्छेले आफ्नो मनमा लागेको कुरा राख्न र अहिलेका सुन्दर क्षणहरु पछि हेर्न मिडिया चाहिन्छ भन्ने लाग्छ,’ सन्जोगले भने, ‘फेरि अहिले जेलाई हामी मिडिया भनिरहेका छौँ, उनीहरुले कहिलेकाहीँ आफू अनुकूल कुराहरु मात्र प्रसारण गरिदिन्छन्, अनि भनेको कुराको पनि अनर्थ लागिरहेको हुन्छ ।’
त्यसैले सन्जोगलाई लाग्छ, ठ्याक्कै आफ्नो कुरा भन्नका लागि एउटा मिडिया सबैलाई आवश्यक हुन्छ । ‘आफ्नै मिडिया भन्ने सोचेर पनि मैले यो युट्युब च्यानल बनाएको हुँ,’ उनले भने ।
यही सोचले बनेको सन्जोगको यो युट्युब च्यानलमा अहिले एक लाख ४० हजारभन्दा धेरै सबक्राइब्स बढेका छन्, लाखौँले उनले हालेका भिडियोहरु हेरिसकेका छन् ।
सुरुमा भिडियो च्यानल खोल्दा सन्जोगलाई लागेको थिएन, दर्शकबाट यति धेरै माया उनले पाउलान् ।
‘अब त दर्शककै माया र चाहनाका कारण पनि भिडियो बनाउन थालेको छु,’ सन्जोग हाँसे, ‘यही लकडाउनकै कुरा गरौँ न, हामीले दुई भिडियो बनाएका छौँ, एक र दुई गरेर । त्यसमा पहिलो भिडियो त हामीले बनायौँ, दोस्रो चाहिँ दर्शकहरुको आग्रहले गर्दा बनाउन बाध्य भयौँ ।’
हुन त दोस्रो भिडियोमा पनि दर्शकले आग्रह गरेकै थिए, थप एक एपिसोड चाहियो भनेर । तर, सन्जोगले यसका लागि समय म्यानेज गर्न सकेनन् ।
आफ्नो जीवनको सामान्य कामदेखि दैनिकी समेटेर मात्र होइन, केही ठाउँहरूको यात्रालाई पनि भिडियोमा सन्जोगले थपिरहेका छन् ।
र, यो सबको कन्सेप्ट डिजाइनर हुन्, सन्जोग आफैँ । अनि उनी आफैं भिडियो एडिट गर्छन्, भिडियो पोस्ट पनि आफैँ गर्छन् ।
आखिर सन्जोगले यो भिडियो बनाउन मात्र होइन, एडिटिङ पनि सिकेका हुन् त ?
हो, तर युट्युबकै लागि भनेर होइन । ‘खासमा मैले पहिलो फिल्म उत्सव गर्दा भिडियो एडिटिङ सामान्य रुपमा सिक्ने मौका पनि पाएको थिएँ, त्यति बेला सिकेको कुरा अहिले प्रयोगमा आएको छ,’ सन्जोग राम्रै हाँसे, ‘आखिर एकपटक सिकेको काम कहीँ न कहीँ त काम लाग्दो रहेछ नि ।’
अर्कोतिर, अहिले झन्डै दुई दर्जन भिडियो सन्जोगले युट्युबमा हालिसकेका छन् । तर, यी सब उनले मात्रै एडिट गरेका चाहिँ होइनन्, उनलाई एक जना दाइले पनि भिडियो एडिटिङ गरेर सहयोग गर्छन् ।
जे होस्, सन्जोगलाई पछिल्लो समय युट्युबमा राम्रो प्रतिक्रिया मिलेका छन्, धेरैले उनलाई मन पराएका छन् । चिया अड्डामा पानीमा आइस हालेर पिउँदै आफूले माया पाउनुको अनुमान पनि सन्जोगले सुनाए, ‘सायद दर्शकलाई हाम्रो शैली राम्रो लाग्यो होला । हामी जे जस्तै खिच्छौँ, त्यसलाई धेरै काँटछाँट गर्दैनौँ । खिच्दा जस्तो आयो, आयो । हाम्रा भ्लग अलि धेरै अग्र्यानिक हुन्छन्, त्यही भएर सायद दर्शकहरुले पनि अलिक बढी माया गर्नु भएको होला ।’
र, दर्शकको यो माया पाउन र स्थायी बनाइरहनका लागि सन्जोग निकै सचेत हुन्छन्, आफ्नै शैलीमा भ्लग बनाउँछन्, मौलिक स्वाद पस्किन खोज्छन् ।
‘हामी दशैंमा टिका लगाएको, भान्सामा खाना पकाएको, पुर्ख्यौली घर जाँदै गरेको, लकडाउनमा घरमै कपाल काटेको विषयलाई नै भिडियो बनाउन समेटेका छौँ,’ सन्जोगले भने, ‘सामान्य तर मौलिक र व्यवहारिक विषयमा भिडियो बनाएकाले होला, दर्शकले मन पराउनु भएको छ ।’
सन्जोगले त अहिले भिडियो बनाउनकै लागि क्यामेरा समेत किनिसकेका छन् । तर, भ्लगिङ गर्न चाहनेहरुलाई सन्जोगको सुझाव छ– पहिले त मैले मोबाइलबाटै सुरु गरेको थिएँ, भ्लग बनाउँदा समयको राम्रो सदुपयोग हुन्छ र यो खर्चिलो पनि छैन । फोनको क्यामेराले नै बनाउन सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।