रसुवा भन्सार कार्यालयबाट भन्सार जाँचपास सुरु

रसुवा भन्सार कार्यालयले भन्सार जाँचपास सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को प्रभावले गत फागुन महिना १५ देखि बन्द रहेको नाका गत सोमबार एकतर्फी सञ्चालनमा आएपछि भन्सार जाँचपास सुरु भएको हो ।


रसुवागढी नाका हुँदै चीनबाट आएका सामानको आइतबारदेखि भन्सार जाँचपास सुरु भएको हो । रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख पुण्यविक्रम खड्काका अनुसार आइतबार ५८ लाख तथा सोमबार १२ लाख  रुपैयाँ राजस्व उठेको छ ।


सिमेन्ट उद्योगका सामान र सोलारका सामग्री बोकेका कन्टेनर जाँचपास भएका छन् । एकतर्फी नाका खुलेको एक साता पुगे पनि व्यापारीले आफ्नो सामानको भन्सार जाँचपास गरेका छैनन् । नाकासम्म व्यापारी आउन कठिन भएको छ । 

 

कामदार र गाडी भाडामा मूल्यवृद्धि भएकोले व्यवसायीले सामान जाँचपासमा ढिलाइ गरेका हुन् । रसुवागढी भन्सार यार्डमा करिब ५० वटा कन्टेनरमा व्यापारीका सामान रहेको कार्यालयले जनाएको छ ।

 



बन्द रहेको नाका सञ्चालन गर्न चौतर्फी दबाबपछि गत सोमबार चीनले एकतर्फी रूपमा नाका सञ्चालन गरेको थियो । नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन् भने आएका सामग्रीलाई नाकाबाट दैनिक आठवटा नेपाली कन्टेनरले सामान लोड गरी भन्सार यार्डसम्म ल्याउने गरेका छन् ।


चिनियाँ पक्षले दैनिक आफ्नो चारवटा गाडीमा रसुवागढी नाकाको मितेरी पुलसम्म सामान ल्याई झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ ।




रसुवागढी नाकामा दैनिक २५० भन्दा बढी कन्टेनर तथा सवारी साधन आवतजावत गर्ने गरेका छन् । चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । व्यापारीले भने राजस्व असुली गरेअनुरूप सरकारले सडकमार्ग स्तरोन्नति नगरेकाले खराब बाटोमा जोखिममा आवतजावत गर्नुपर्ने गुनासो गरेका छन् । 


चीनबाट तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लास्टिकका सामग्री आयात हुने गरेको छ । 

 

त्यस्तै, धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहेन्दी, दन्तमन्जन, शृङ्गारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, उनी गलैँचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिमलगायत वस्तुहरू नेपालबाट चीनतर्फ निकासी भइरहेको छ ।  
 

  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १४:२७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया