अयोध्याबारेको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति
कुटनीतिक पहल गरी नक्सा अनुरुपको जमिन फिर्ता ल्याउनुको साटो अनावश्यक मिडियावाजीमा लागेको कांग्रेसको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका विषयमा दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गदै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकार र नेकपाको आधिकारिक धारणाको मागसमेत गरेका छन् । 

 

प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार उनले गुमाएको प्रष्ट हुने कांग्रेसको तर्क छ । 

 

‘नक्सा अनुरुपको जमिनमा हक स्थापित गर्न गम्भीर कुटनीतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुले अर्थ विषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर हुनुहुन्न भन्ने पुष्टि भएको छ नै अपरिपक्व टिप्पणीमार्फत उहाँले संवेदनशील बिषयमा असंवेदनशील ब्यवहार प्रस्तुत गर्नुभएको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रतिपक्षीदल नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग गर्दछु ।’


‘प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलताभन्दा पर ब्यक्तिगत सनकको कैदी बन्न मिल्दैन । अतः प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र ब्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्री नै बदल्ने, उहाँकै दल नेकपाको बिषय हो’ विज्ञप्तिमा उल्लेख  छ ।



 

देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ? भन्ने प्रश्नसमेत कांग्रेसको छ । यसका लागि संस्थागत प्रस्टीकरण अनिवार्य भएको कांग्रेसको धारणा छ ।



 

कोरोना महामारी तथा बाढी पहिरोले कयौ हताहती भएको समयमा देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ भन्दै कांग्रेसले सरकारसँग प्रश्नसमेत गरेको छ । अहिलेको अवस्थामा समयको सदुपयोग गरेर युद्धस्तरमा तयारी नगर्ने भन्दै कांग्रेसले सरकारको आलोचनासमेत गरेको छ ।


सर्वसम्मतिले देशको नक्सा संदसबाट पारित भए पनि भूमिमा अधिकार स्थापितमा प्रधानमन्त्रीको कुटनीतिक पहल नपुगेको आरोपसमेत कांग्रेसले लगाएको छ । 

  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १७:१४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया