ओली अडानः दुवै पद छोड्दिनँ, प्रचण्ड अडानः कम्तिमा एक पद छोड्नुपर्छ
फाइल तस्वीर ।

सत्ता र पार्टीमा शक्तिका लागि सिर्जित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद तत्काल अन्त्य नहुने संकेत देखिएको छ । यसो हुनुमा पार्टीका दुवै पक्षका नेताहरुले आआफ्नो अडान कायम राख्नु बुझिएको छ । 

पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बालुवाटारमा भएको बैठकमा पनि पछिल्लो विवादको समाधानका लागि सकारात्मक बिन्दूतर्फ दुवै नेता नपुगेको बताइएको छ । 

यसअघि मंगलबार भएको नेकपाका दुई अध्यक्ष प्रचण्ड र ओलीको वार्ता सुरुवात नहुँदै सकियो । बालुवाटार पुगेका प्रचण्डले ओलीलाई तपाईं थकित देखिनुहुन्छ भने र खुमलटार फर्किए । 

बुधबार फेरि यी दुई अध्यक्षबीच भेटघाट भयो । तीन घन्टाभन्दा लामो भेटघाटमा यी दुई नेताबीच अहिले जारी संकटको कुनै निष्कर्ष निस्किन सकेन । बुधबार यी दुई नेताको भेटघाटमा नेकपा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पौडेल पनि सहभागी थिए ।

यो भेटघाटलाई निकै महत्वका साथ हेरिएको थियो । यो भेटघाटलाई महत्वका साथ हेरिनुको एउटै कारण हो, नेकपामा पछिल्लो पटक सात दिनका लागि स्थगित गरिएको स्थायी कमिटी बैठक २ साउनमा गर्ने तय भएको छ । यसअघि दुई नेताबीच छलफलबाट एउटा निष्कर्ष निस्किने अनुमान गरिएको थियो । 

तर, अब यो भेटघाटबाट पनि निष्कर्ष ननिस्किएपछि यी दुई नेताबीच बिहीबार अर्थात् १ साउनमा फेरि भेट हुनेछ । १ साउनमा हुने भेटमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुने बताइएको छ ।



के बिहीबारको भेटघाटमा कुनै सहमति बन्ला त ? 

यसका लागि नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीका अडानलाई पहिले विश्लेषण गर्नु पर्ने हुन्छ । 



नेकपाका स्थायी कमिटी सदस्य तथा ओलीनिकट एक नेताले फरकधारसँग बुधबार साँझ भनेका छन्, ‘आजको बैठक पनि निकै सकारात्मक भएको छ, पार्टीमा जारी विवादका लागि एउटा बाटो आवश्यक छ र त्यो बाटो पहिल्याइसकिएको छ ।’

तर, प्रचण्ड निकट अर्का एक नेताले चाहिँ यसलाई अस्वीकार गरे । फरकधारसँग टेलिफोनमा कुराकानी गर्दै उनले भने, ‘सकारात्मक त भनियो तर कुनै सहमती हुनसक्ने छाँटकाँट देखिएको छैन ।’ उनले प्रधानमन्त्री ओलीले अहिले नेकपा र सरकार दुवैलाई निकै ठूलो संकटमा धकेलेको भन्दै तत्काल दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्डको बटमलाइन भएको पनि बताए ।

‘हो, सहमती हुने हो भने एउटा पदमा पनि नेताहरुले कम्प्रोमाइज गर्नुहोला,’ उनले भने, ‘तर, ओली सहमती गर्ने पक्षमा देखिएका छैनन् । पछिल्ला दिनमा निकै विवादित अभिव्यक्ति दिएका ओलीबाट पनि यो प्रष्ट हुँदै गइरहेको छ, उनी न प्रधानमन्त्री छोड्न तयार छन्, न अध्यक्ष पद नै छोड्न तयार छन् ।’

उनको तर्क छ, ‘अहिले नेकपा र देशलाई बचाउनका लागि प्रधानमन्त्री ओलीले एउटा पद स्याक्रिफाइस गर्नैपर्छ ।’

अर्कोतिर, प्रधानमन्त्री ओलीनिकट नेताले भने प्रधानमन्त्री ओलीले जनता र पार्टीमा नेताहरुको म्यान्डेट पाएकाले बीचमा छोड्नु झन् खतरा हुने संकेत गरे । फरकधारसँग उनले भने, ‘उहाँले न प्रधानमन्त्रीबाट छोड्ने यो समय हो, न पार्टीको अध्यक्ष पदबाट । उहाँलाई अहिले प्रधानमन्त्रीबाट निकाल्नु भनेको देशलाई कमजोर सावित गर्नु हो ।’

केही समय यता भारतसँग सिर्जित विवादका कारण र यी समस्याहरु समाधान गर्नका लागि पनि प्रधानमन्त्री ओलीले दुवै पद नछोड्ने अडान लिइरहेको उनको तर्क छ ।

  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार ०:५०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया