पुर्ननिर्माणको अन्तिम चरणमा रहेको रानीपोखरीमा मंगलबार बोरिङबाट पानी भर्ने काम भएपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ । त्रिचन्द्र कलेजको परिसरमा निर्मित दुईवटा बोरिङबाट पोखरीमा पानी हालिएपछि विरोध सुरु भएको हो ।
सम्पदा संरक्षण अभियन्ता तथा डकुमेन्ट्री निर्माता आलोकसिद्धि तुलाधारले बुधबार आफ्नो फेसबुकमार्फत यसको विरोध जनाए ।
‘राजा प्रताप मल्लले हिमालयदेखि महासागरसम्मको ५१ तीर्थबाट जल ल्याएर पवित्र तुल्याएको यस रानीपोखरीमा आजदेखि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले त्रि–चन्द्र कलेज परिसरमा खनेको डिप बोरिङको पानी खसाल्न थालेको छ,’ उनले लेखेका छन्, ‘संरक्षणको नाउँमा सम्पदाको विनाश नगरौं । काठमाडौं प्राकृतिक र मानव निर्मित सम्पदा मास्ने यो जघन्य अपराध तुरुन्त बन्द गर ।’
त्यस्तै, सम्पदा संरक्षण अभियन्ता तथा सम्पदा बचाऔं अभियान समिति संयोजकसमेत रहेका गणपतिलाल श्रेष्ठले डिप बोरिङबाट पानी झार्नु रानीपोखरीको मर्म, अर्थ र महत्व विपरित भएकाले त्यसलाई तत्काल सुधार गर्नुपर्ने बताए ।
‘पोखरीमा डिप बोरिङबाट पानी हाल्नु रानीपाखरीको नजिर वा मौलिकता विपरीत मात्रै होइन, सिंगो उपत्यकालाई जोखिममा हाल्ने कार्य पनि हो,’ फरक धारसँगको कुराकानी गर्दै श्रेष्ठले भने ।
उनका अनुसार प्रताप मल्लले निर्माण गरेको यो पोखरीमा विभिन्न विकल्पको प्रयोग गरेर पानी हालिन्थ्यो । वर्र्षायाममा दरवार स्कुलमा पानी संकलन गर्ने व्यवस्था गरिएको थियो भने अन्य याममा बुढानिलकण्डबाट राजकुलोमार्फत आउने पानीको प्रयोग गरिन्थ्यो ।
त्यो वेला जस्तै प्राधिकरणले अहिले पनि पोखरीमा पानी हाल्न बोरिङको विकल्प खोज्नु पर्ने श्रेष्ठले बताए । पोखरीमा पानी हाल्न बोरिङको प्रयोग गर्दा प्रताप मल्लकालीन रानीपोखरीको मौलिकतालाई मात्र नभएर सिंगो उपत्यकालाई क्षति पुग्ने श्रेष्ठको गुनासो छ ।
‘पानी निकाल्नका लागि दिनानुदिन निर्माण हुँदै गइरहेका बोरिङका कारण उपत्यका क्रमशः भासिँदै गइरहेको छ’, उनी भन्छन्, ‘यसले सिंगो उपत्यकामा बसोबास गर्ने मानिसको जीवनलाई नै क्षति पुर्याउने छ ।’
यस विषयमा पुर्ननिर्माण प्राधिकरणको ध्यानाकर्षण गराउन आफूहरुको बैठक पनि बसिरहेको श्रेष्ठले जानकारी दिए । ‘पुर्ननिर्माण प्रधिकरणले हाम्रो अनुरोध स्वीकारेर बोरिङबाट पानी हाल्ने काम रोक्ने छ भन्ने मेरो विश्वास छ’, श्रेष्ठ भन्छन् ।
यता राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सिनियर एक्सपर्ट तथा धरहरा र रानीपोखरी पुर्ननिर्माण जिम्मा पाएका राजुमान मानन्धरले भने बोरिङको पानी राखिएको कुरा अस्वीकार गरेका छन् । बोरिङ खन्ने कामदारहरुले आफूलाई थाहै नदिई पानी हालेको उनको भनाइ छ ।
‘कामदारहरुले बोरिङ चल्छ कि चल्दैन भनेर जाँच्न पोखरीमा पानी हालेको बुझ्नमा आएको छ’, फरक धारसँग उनले भने ।
पोखरीमा सकेसम्म बोरिङबाट पानी नहालिने र एकदमै गाह्रो भएका बेला मात्रै बोरिङको पानी प्रयोग गरिने मानन्धरले स्पष्ट पारे ।
‘चैत–बैशाख जस्ता सुख्खा महिनामा अति नै गाह्रो भएमा मात्रै बोरिङको पानी प्रयोग गरिने छ’, उनी थप्छन् ।
पुर्ननिर्माण प्राधिकरणले पोखरीमा चाहिने पानी संकलन गर्न धेरै विकल्प खोजिसकेको र केही खोज्ने क्रम जारी रहेको मानन्धरले जानकारी दिए ।
‘वर्षायाममा आकाशे पानी संकलन गर्न दरबार हाइस्कुलमा दुईटा ट्याक्की निर्माण कार्य सुरु भइसकेको छ । त्यस्तै, त्रि–चन्द्र कलेजमा पनि पानी संकलन गर्न ट्यांकीहरु राख्ने काम केही समयमै सुरु गरिने छ’, उनी भन्छन् ।
रानीपोखरीलाई प्रताप मल्लकालीन स्वरुपमै फर्काउने काममा प्राधिकरणले कुनै कसर बाँकी नराख्ने मानन्धरको दाबी छ ।
३.२ हेक्टर जमिनमा फैलिएको पोखरी भरिन करिब ३२१ लाख लिटर अवश्यक पर्छ ।
असारभित्रै रानीपोखरी पुर्ननिर्माण सम्पन्न गर्ने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको लक्ष्य थियो । तर कोरोनाभाइरस महामारपिछिको कडाउनका कारण काम समयमै सम्पन्न हुन सकेको छैन ।
रानीपोखरीको पुर्ननिर्माणको जिम्मा सुरुमा काठमाडौं महानगपालिकाले पाएको थियो । महानगरपालिकाले काम गर्न नसकेपछि यो जिम्मा सरकारले गत वर्ष पुर्ननिर्माण प्राधिकरणलाई दिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।