केन्द्रीय विभाग गठन र विस्तारप्रति पौडेलपक्षको आपत्ति

काठमाडौं– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि केन्द्रीय विभाग गठन गर्ने र विस्तार गर्ने कार्य भइरहेको जनाई आपत्ति जनाएका छन् ।

उनीहरुले बिहीबार कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजकलाई एक पत्रमार्फत आचारसंहिताविपरीत भएका कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेको भनी उक्त कार्य तत्काल रोक्न र बदर गर्न–गराउन पार्टी सभापति र निर्वाचन समितिको ध्यानाकर्षण गराएका थिए ।

कांग्रेसको १३औँ महाधिवेशन सम्पन्न भई चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुनमा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भएकाले थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महिनामा प्रवेश गरिसकेको छ । 

पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका दोहोर्याएरसमेत सार्वजनिक भई महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको उनीहरुले उल्लेख गरेका छन् ।
‘पार्टीको विधानमा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग–समिति–विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्नेछ,’ भन्ने बाध्यात्मक व्यवस्था छँदाछँदै र तदअनुसार हामीहरुले यसतर्फ बारम्बार ध्यानाकर्षण गराउँदा गराउँदै विभिन्न विभाग अहिले आएर गठन गर्ने र सदस्य मनोनयन गर्ने कार्य भइरहेकामा हाम्रो आपत्ति छ,’ पत्रमा उल्लेख छ ।

पार्टीको विधि र पद्धति मिचेर हाल गठन भएका र भइरहेका उक्त विभाग अस्वीकार्य रहेको जानकारी गराउँदै उनीहरुले  महाधिवेशन स्वच्छता र निष्पक्षतालाई ध्यानमा राख्दै विधान एवं निर्वाचन आचारसंहिताविपरीतका मनोनयन र नियुक्तिलाई स्वीकार नगर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एवं शुभेच्छुकलाई आह्वान गरेका छन् ।





  • प्रकाशित मिति : साउन २, २०७७ शुक्रबार १८:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया