Wed, 05 Aug, 2020


जीवनभर चर्चसँग विद्रोह गरेका डार्विन कुनै समय कट्टर ईश्वरभक्त थिए
फरकधार / साउन ३, २०७७

‘म एक बुढो र रोगी व्यक्ति हुँ, जोसँग पहिल्यैदेखिका धेरै अधुरा काम बाँकी छन् । यस्तोमा म तपाईँका सम्पूर्ण प्रश्नको उत्तर दिन समय खर्चन सक्दिनँ । न त तपाईँले मलाई सोधेका प्रश्नको उत्तर दिन नै सक्षम छु । फेरि यी प्रश्नसँग मेरो कुनै लेनदेन पनि छैन । तर, म के कुरा चाहिँ निष्फिक्री भन्न सक्छु भने ईश्वरले आफूले रचना गर्न लागेको प्रकृति र मनुष्य रचना गर्नुको उदेश्यबारे बताउन कसैलाई दूत बनाएर पठाएनन् । यी सबै मनगढन्ते कुरा हुन्, निराधार हुन् ।’



उल्लेखित पङ्ति जीव विज्ञानका अन्वेषक चाल्र्स डार्विनले सन् १९७९ मा आफ्ना एक जर्मन विद्यार्थीलाई लेखेको पत्रबाट साभार गरिएको हो । यो पत्रलाई उनका छोरा फ्रान्सिस डार्विनले आफ्नो पुस्तक ‘द लाइफ एण्ड लेटर्स अफ डार्विन’ मा समावेश गरेका छन् ।

बाबु चाल्र्सबारे चर्चा गर्दै फ्रान्सिसले पुस्तकमा लेखेका छन्, ‘धर्म र यशुसँग जोडिएका मामिलामा उहाँ अक्सर चुप बस्न नै रुचाउँनुहुन्थ्यो । उहाँले धर्म र यशुसँग सम्बन्धित विषयमा जे जति बोल्नुभयो ती सबै उहाँका नितान्त व्यक्तिगत धारणा थिए । जुन उहाँले कहिल्यै पनि प्रकाशित गर्ने उदेद्दयले बोलेको हुनुहुन्नथियो ।’

फ्रान्सिसका अनुसार धर्मबारे कहीँ कतै बोल्नु परिहाले पनि डार्विन एकदमै सोचेर मात्रै बोल्दथे । वास्तवमा उनी धर्मबारे बोल्नै नपरे हुन्थ्यो भन्ने सोच्थे । त्यसका बाबजुद पनि उनले लेखेका कयौं पत्र र किताबमा उनको धर्म र भगवानप्रति बिरोध रहेको कुरा प्रस्ट देख्न सकिन्छ ।

फ्रान्सिसले आफ्नो जीवनीमा लेखेका छन्, ‘सबै कुरालाई ईश्वरको वरदान र चमत्कार हो भनेर त्यसमा विश्वास गर्ने समझदार व्यक्तिले त्यसको प्रमाण पनि दिन सक्नु पर्छ र प्रमाण पेस गर्न आवश्यक पनि छ । यो संसारमा जे जति भएको छ, ती सबै भगवान्को चमत्कार र कृपा हो भनेर कसैले भनेको सुन्ने र त्यसैलाई सत्य ठान्ने त्यो समयका मानिसहरु हामीभन्दा सोझा र अनविज्ञ थिए ।’

क्रिश्चियन धर्मसँग जोडिएको साहित्य द गास्पेल (यसमा यसुको जीवन, मृत्यु र उनी फेरि जीवित भएको कथा छ) मा आशंका व्यक्त गर्दै डार्विनले भनेका थिए, ‘यो पुस्तकमा वर्णन भएका धेरै कुरामा मैले विरोधाभास देखेको छु । यो पुस्तकमा लेखिएका कुरामा जति–जति मलाई विरोधाभास बढ्दै गयो, क्रिश्चियनिटीप्रतिको विश्वास कम पनि हुँदै गएको छ ।’

‘द गस्पेल’ यशुका १२ जना कठोर मध्येका एक जना शिष्य थोमसले लेखेका थिए । उनी तिनै थोमस थिए, जो यशुपछि ५० औं शताब्दीमा उनको सन्देश लिएर भारत आएका थिए । र, उनी ७३ औं इशापूर्वमा भारतको चेन्नईस्थित सेन्ट माउन्टमा एक भिलको हातबाट भालाले रोपिएर मारिएका थिए ।

पहिले ईश्वरको बाटोमा

डार्विन सधैं यशुको विरोधी थिएनन् न त उनी सधैं नास्तिक नै थिए । युवास्थामा एक समय त यस्तो पनि थियो जति बेला डार्विनले पादरी बन्न तयारी पनि गरिसकेका थिए । यो कुरा खुलाउँदै फ्रान्सिसले आत्मकथामा लेखेका छन्, ‘मेरा बाबा मलाई तँ पादरी बनेपछि राम्रो मान्छे बन्छस् भन्नुहुन्थ्यो । त्यसपछि मैले सोच्नका लागि केही समय मागे ताकि चर्च अफ इंग्ल्याण्डका सबै धर्मग्रन्थ र नियमप्रति आफ्नो मनमा विश्वास प्रकट गर्न सकुँ । यसैै क्रममा मैले क्रिश्चियन धर्मग्रन्थ निकै साबधानीसाथ अध्ययन गरे । त्यस समयमा बाइबलमा वर्णन गरिएका हरेक शब्दलाई कठोर अनुशासन र अक्षरशः पालना गर्ने कुरामा मलाई कुनै सन्देह थिएन । त्यसपछि क्रिश्चियन सिद्धान्तको पूर्ण रुपमा पालना गर्नु पर्छ भन्नेमा म अग्रसर भएँ ।’

त्यसताका डार्विनमा क्रिश्चियन धर्मग्रन्थ र सिद्धान्तको प्रभाव धेरै हावी भएको थियो । यतिसम्म कि उनी आफ्ना दुवै समुदी्र यात्रामा आफूसँग बाइबल लिएर गएका थिए । तर, त्यसपछिका हरेक यात्रा दौरानमा भने उनी धर्मबाट बिस्तारै टाढा र विज्ञानप्रति नजिक हुन थाले । तर, आफू किन र कसरी एकाएक नास्तिक भए भन्नेबारे भने उनी स्ययम्ले नै भेउ पाउन नसकेको पाइएको छ ।

यसबारेमा डार्विनले लेखेका छन्, ‘यी दुई वर्ष (अक्टोबर १८३६ देखि जनवरी १८३९)को दौरान मैले धर्मको महत्व र आवश्यकताबारे राम्रोसँग बुझ्ने मौका पाएँ । विगतका यात्राका शुरुवाती दिनहरुमा म धर्मलाई लिएर घोर कट्टरवादी थिएँ । मलाई याद छ, नैतिकतासँग जोडिएका कैयन मुद्धामाथि बाइबलमा भएका अकाट्य सन्दर्भ पेस गर्थेँ, तब जहाजका अधिकारी मेरो तर्कमाथि खिसी गर्थे । उनीहरु मलाई मजाकको पात्र बनाउँथे ।’

समयसँगै डार्विन जतिजति आफ्नो अनुसन्धानलाई अगाडि बढाउँदै गए धर्मप्रतिको लगाव र आस्था पनि त्यति नै कम हुँदै गयो ।

भनिन्छ, आफ्नी छोरी एनीको मृत्यु भएपछि डार्विनले आफूलाई पूर्ण रुपमा अनुसन्धानमा लिन गराए र आफ्नो पूरैै समय त्यसैमा बिताए । यस दौरान बिस्तारै–बिस्तारै उनको बाइबल र धर्मप्रति भएको विश्वास उडेर गयो ।

यसबारे डार्विनले २४ नोबेम्बर १८८० मा उनले लेखेको एउटा ऐतिहसिक पत्रमा बताएका छन् । फ्रान्सिस एमसी डेर्मोटलाई जवाफ दिन लेखेको पत्रमा उनले प्रस्ट रुपमा भनेका थिए, ‘तपाईँलाई यसो भन्दै गर्दा मलाई खेद छ, तर मलाई बाइबलमा कति पनि विश्वास छैन । यही कारणले गर्दा होला मलाई आफू जिसस क्राइस्टको सन्तान हुँ भन्नेमा पनि विश्वास छैन ।’

(सन् २०१५ मा अमेरिकाले यस पत्रको लिलामीको बोल १९७००० अमेरिकी डलर राखेको थियो )

चर्चसँग युद्ध

त्यसो त डार्विन मात्रै धर्मकाविरुद्धमा थिएनन्, चर्च र धर्मगुरु पनि उनको खेदो खनिरहेका थिए । बरु चर्च र धर्मगुरुप्रति रहेको उनको विरोधभन्दा कयौं गुणा चर्को विरोध चर्च र धर्मगुरुहरुले उनीमाथि गरे । चर्च र चर्चका अनुयायीलाई डार्विनको मानव विकासको सिद्धान्त बिल्कुलै मान्य थिएन । उनीहरुलाई लाग्थ्यो, डार्बिनको सिद्धान्तले मानव र जनावरबीचको अन्तर नै समाप्त गर्दैछ । योभन्दा पनि ठूला संगिन आरोप पनि उनीमाथि लगाइयो । डार्विनको सिद्धान्तले परमेश्वर, उनका शिष्य र क्रिश्चियनको प्रमुख धर्मग्रन्थ बाइबलको अस्थित्वमाथि नै प्रश्न गरेको भन्ने आरोप थियो ।

पृथ्वीको रचना क्राइस्ट जन्मनुभन्दा ४००४ वर्ष पहिले भएको मान्यता जेम्स बइस्सेरलगायत तमाम इसाई धर्मगुरुहरुको थियो । तर, डार्विन आफ्नो विकासवादको सिद्धान्तमा पृथ्वीको उत्पत्ति लाखौं–करोडौं वर्ष पहिले नै भएको बताउँथे ।

धर्मगुरुप्रति डार्विनको दोस्रो मुख्य आपत्ति यस्तो छ । बाइबलका अनुसार ईश्वरले सृष्टिको सिर्जना एकै सातामा गरेका हुन्, जसमा वनस्पति, रुख–बिरुवा, जीव–जन्तु, पहाड–नदी र मनुष्यलाई ६ अगल–अलग दिनमा बनाएका हुन् भन्ने छ । बाइबलका अनुसार ईश्वरले पहिलो दिन सूर्य र पानी, दास्रो दिन आकाश बनाए । त्यस्तै, तेस्रो दिन ईश्वरले पानीलाई एक ठाँउमा जम्मा गरेर धर्ती र समुद्र बनाए । अनि, धर्तीमा रुख–विरुवा रोपे । चौंथो दिनमा आकाशामा तारा लगाए । पाचौं दिन ईश्वरले समुद्रमा बस्ने जीव–जन्तु र आकाशमा उड्ने पंक्षी बनाए र छौटौं दिनमा धर्ती र जनावरमा अधिकार राख्न आफ्नो छवि जस्तै मान्छे बनाए । अन्त्यमा, तिनीहरुको संख्या बढोस् भन्ने आशीर्वाद दिए ।

तर, डार्विनको विकासवाद सिद्धान्तले भने यसा पक्रियालाई मान्दैन । डार्बिनको सिद्धान्तले यो पक्रियालाई एक मनगढन्ते कथा भएको बताउँछ । डार्बिनले विकासवादमा आधारित आफ्नो किताब, ‘द ओरिजिन अफ स्पेसिज’ मा लेखेको छन्, ‘ईश्वरले जीवित प्राणी र रुख–बिरुवालाई अलग–अलग बनाएका हुन्’ भनेर ।’ डार्विनका अनुसार यी सारा जीवहरु केही निश्चित जीवका वंशज हुन्, जसमा समयसँगै भएको परिवर्तनले उनीहरुको रुप पनि परिवर्तन हुँदै गयो र त्यसबाट लाखौं प्रजातिको जन्म भयो । उनका अनुसार एक पिँढीदेखि अर्काे पिँढीसम्म पुग्दा सबै कुरामा थोर–थोरै परिवर्तन हुँदै गयो र पछि गएर ती कुरामा ठूलो परिवर्तन भएको देखियो । जस्तै, जस्ता जलचर जीवहरु माछा जस्ता अन्य समुद्री जीवमै परिणत भए भने बाँदरबाट मान्छे ।

यिनै ईश्वरविरोधी सिद्धान्तको प्रतिपादन गरेको हुनाले डार्विनलाई ईश्वरको अस्तित्वलाई मेटाउने प्रयास गरेको आरोप लाग्दै थियो ।

सन् २००९ मा उनको जीवनीमा आधारित फिल्म ‘ओरिजिन्स अफ द स्पेसिज’को एउटा संवादमा थोमस हेनरी हक्सले डार्बिनलाई भन्छन्, ‘यसपछि ईश्वर आफूले संसारको सिर्जना एक सातामा गरेको दाबी गर्न सक्दैनन्, तपाईँले त ईश्वरको हत्या नै गरिदिनु भयो श्रीमान् ।’

डार्विनभन्दा पहिले

क्रिश्चियन धर्म र जिससको विरोध गर्ने डार्विन मात्रै थिएनन् । उनीभन्दा पहिले पनि धेरै वैज्ञानिकले क्रिश्चियन धर्मको विरोध गरिसकेका थिए । कपरनिकस, जियोडार्नाे ब्रुनो र ग्यालिलियो जस्ता विचारक र वैज्ञानिकले आफ्नो समयमा चर्च र ईश्वरबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए । उनीहरुको धारण चर्च र ईश्वर विरोधी भएकाले उनीहरुलाई धर्मगुरुहरुले सजाय पनि दिएका थिए । कपरनिकसले आफ्नो सिद्धान्तको प्रतिपादन आफ्नो अन्तिम समयमा गरेका हुन् । यसैकारणले कपरनिकस धर्मगुरुको आक्रमणबाट बचेका थिए । तर लेनिन ब्रुनो, ग्यालिलियो मार्काेनी र अन्य वैज्ञानिक भने धर्मगुरुको सजायबाट बच्न सकेनन् । ईश्वरको अस्तित्व र महिमा विषयउपर शंका गरेकै कारण ग्यालिलियोलाई आजीवन कारावासको सजाय सुनाइएको थियो भने बु्रनोलाई ज्युँदै जलाइएको थियो ।

सायद यही कारणले डार्विनले आफ्नो समुद्री यात्रामा आधारित किताब ‘द वायज अफ बिगल’ सन् १८३९ मा प्रकाशित गरेको भए पनि आफूले प्रतिपादन गरेको प्राणीको विकाससम्बन्धि सिद्धान्त अनुसन्धान गरेको २० वर्षसम्म पनि प्रकाशत गर्ने हिम्मत जुटाउन सकेका थिएनन् । उनको यो पुस्तक प्रकाशित नहुनु पछाडिको मुख्य कारण उनकी श्रीमती इमा डार्विन भएको बताइन्छ । सरल स्वाभावकी इमाको चर्चप्रति प्रगाढ विश्वास थियो, त्यसैकारण आफ्नी श्रीमतीको आस्थामा ठेस पुग्छ भनेर उनले प्रकाशन नगरेको बताइन्छ ।

तर, २६ जुन १८५९ मा डार्विनले अर्को सफलता प्राप्त गरे जसका कारण उनलाई आफ्नो पुस्तकबारे फेरि एकपटक सोच्न बाध्य बनायो । उनले प्राप्त गरेको पत्र एक रसेल वालेस भन्ने व्यक्तिको थियो । उनी डार्विनको ठूलो प्रशंसक थिए  । साथै, उनी डार्विनकै जस्तै विकासवादी सिद्धान्तबारे अनुसन्धान गरिरहेका थिए ।

डार्विनलाई लेखेको पत्रमा वालेसले आफूले अनुसन्धान गरिरहेको पुस्तकको प्रकाशनका लागि सल्लाह मागेका थिए । यसले डार्विनलाई धेरै चिन्तित बनायो । मैले प्रतिपादन गरेको सिद्धान्त जति सक्दो चाँडो प्रकाशन गरिएन भनें वालेसले आफ्नो पुस्तक सबैमाझ ल्याएर त्यसको सबै श्रेय आफूले लिन्छन् भन्ने डार्विनलाई लाग्यो । 
त्यसपछि उनले वालेसको नाम पनि आफ्नो अनुसन्धानमा जोडेर पुस्तक प्रकाशनको घोषणा गरे । सन् १८५९ नोभेम्बरमा ऐतिहासिक किताब ‘अन द ओरिजिन्स अफ स्पेसिजः बाय मिन्स अफ नेचुरल सलेक्सन’ छापियो । जसले मानव जीवनसँग जोडिएका रहस्य पर्दाफास गर्दै थप काममा ठूलो सहयोग गर्यो । यस किताबलाई जीव विज्ञानसँग जोडिएको विज्ञानको जग र आधार मानिन्छ ।

पुस्तक प्रकाशन भएसँगै डार्विनको चौतर्फी आलोचना हुन सुरु भयो । उनको कतिसम्म आलोचना भयो भने  आलोचकहरुसँग आजित भएर उनले यो संसारलाई नै नर्कको संज्ञा दिएका थिए ।

चर्चसँगै उनलाई मिडियाले पनि पेल्न सुरु गर्यो । यतिवेलासम्म उनको पुस्तकको संसारका धेरै ठाउँमा चर्चा हुन थालिसकेको थियो । पुस्तकले युरोप र अमेरिकाका धेरै मानिसलाई भित्रैदेखि हल्लाउन पनि सुरु गरिसकेको थियो । फलस्वरुपः पुस्तक प्रकाशनपछि अमेरिका र युरोपका केही स्कुल र कलेजमा ‘डार्विन थेउरी’ पढाउनसमेत निषेध गरिएको थियो ।

(भारतीय अनलाइन पोर्टल ‘सत्याग्रह’ मा प्रकाशित भएको यो स्टोरीलाई कमल विष्टले उत्था गरेका हुन् ।) 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्