सुरक्षा साबधानीविनै चल्न थाले सार्वजनिक यातायात

काठमाडौं– उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सानिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन ।

सरकारले गत असार २६ गतेदेखि नै सुरक्षा विधि अपनाएर दुईजनाको सिटमध्येमा एक सिटमा एकजना यात्रु राखेर सवारी चलाउन सकिने निर्णय गरेको थियो । सुरुका दिनमा नचलेका सार्वजनिक यातायात हाल फाट्टफुट्ट चल्न थाले पनि सरकारले कोरोनाबाट बच्न बनाएका नियम भने लागू हुन सकेको छैन । 

विगतदेखि नै यातायात व्यवस्था विभागले बनाएका नियम नमान्ने गरेका सार्वजनिक यातायातले यसपटक पनि त्यस्तै गर्न थालेको यात्रुको गुनासो छ । दूरी कायम नगरी यात्रु सवारीमा राख्दा कोरोनाको सङ्क्रमण फैलन सक्ने भए पनि अनुगमन नहुँदा चालक, परिचालकले पुरानो बानी नसुध्रने देखिएको यात्रुको भनाइ छ । सिट क्षमताभन्दा आधा कम यात्रु राखेकैले लिन पाउने ५० प्रतिशत भाडा भने सिटभर यात्रु राखेर पनि असुल गर्न थालिएको छ । 

विभागमा हालका लागि तोकिएभन्दा बढी यात्रु राख्न थालेको गुनासो आउन थालिसकेको महानिर्देशक गोगनबहादुर हमालले बताए । सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्नेलाई स्थलगत रुपमै कारवाही गर्न ट्राफिक प्रहरीलाई भनिएको विभागले जनाएको छ ।

हाल आएका गुनासो सम्बोधनका लागि प्रक्रिया अघि बढाइसकिएको छ । सिट क्षमताभन्दा आधा कम यात्रु राख्ने विषय जनताको स्वास्थ्यसँग सम्बन्धित रहेकाले अनिवार्य रुपमा अक्षरशः पालना गर्न विभागले आह्वान गरेको छ ।  विसं २०७५ फागुन मसान्तसम्म ३५ लाख ३९ हजार ५१९ सवारी साधन दर्ता भएको विभागको वेभसाइटमा उल्लेख छ । जसमा बस ४९ हजार ३१८, मिनिबस र मिनिट्रक २५ हजार ५९५, माइक्रो सात हजार ६५८, टेम्पो ४५ हजार ६७२ दर्ता भएको छ ।





  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार १७:१२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया