नेकपाको स्थायी कमिटी बैठक सर्नुको कारण यसरी खुलाए ठाकुर गैरेले

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पटक–पटक सरिरहेको छ । आइबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक मंगलबारका लागि सरेको छ ।

स्थायी कमिटीको बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ । गत १० असारमा बोलाइएको बैठकमा एमसिसीलगायत विषयमा छलफल हुने र निष्कर्ष निकालिने महासचिव विष्णु पौडेलले फरक धारलाई बताएका थिए । तर, कुनै निष्कर्ष ननिकाली पुनः बस्ने भनेर बैठक टुगिंएको थियो ।

वर्षे अधिवेशन स्थगित भएसँगै एमसिसीको मुद्दा सेलाएको छ । यद्यपि, त्यसपछि आएको नेत्तृत्व विवाद नेकपामा भुइँचालो आएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटीका अधिकांश सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिरहेका छन् ।

प्रधानमन्त्री ओली दुवै पद नछोड्ने अडानमा छन् । लगातार बैठक र छलफल हुँदा पनि नेताहरुबीच सहमति हुन सकेको छैन । हुनै लागेका सहमतिहरु पनि भाँडिएका छन् ।

नेकपाभित्रका यस्ता समस्या हल गर्ने उद्देश्यअनुरुप छलफल गर्न भन्दै स्थायी कमिटीको बैठक बोलाइन्छ । तर फेरि सारिन्छ वा स्थगित गरिन्छ । यसले नेकपा कार्यकर्तालाई मात्र नभएर जनतालाई पनि निरास बनाएको छ ।

धेरैको जिज्ञासा छ, नेकपाको स्थायी कमिटीको बैठक आखिर किन सर्छ वा स्थगित हुन्छ ? यसैको उत्तर खोज्न फरक धारले नेकपाका युवा नेता ठाकुर गैरेसँग सम्पर्क गरेको गरेको छ । बैठकमा लाने प्रस्ताव कस्तो र कसरी लैजाने भनेर नेताहरुले गृहकार्य गर्ने गरेका कारण स्थायी कमिटीको बैठक सर्ने र स्थगित हुने गरेको गैरे बताउँछन् ।



‘मुलतः बैठकलाई प्रभावकारी बनाउन, छलफल व्यवस्थित गर्न र प्रभावकारी निष्कर्ष निकाल्न नेताहरुले गृहकार्य गर्ने गर्नुहुन्छ,’, फरक धारसँग उनले भने, ‘बैठकमा कस्तो प्रस्ताव लैजाने र कसरी लैजाने भनेर त्यसको गृहकार्य नेतृत्व तहमा हुनु स्वाभाविक कुरा हो र यो हुनुपर्दछ ।’

स्थायी कमिटीको  बैठक आयोजना भएको लामो समय बितेर डेडलक सिर्जना भएकाले  यसले थप अन्योलता सिर्जना गरेको नेता गैरैको भनाइ छ । यसले पार्टी कमिटीको महत्व र गरिमालाई कमजोर बनाएको उनको निष्कर्ष छ । 



‘पार्टीभित्र जुन तहको विवाद देखा परेको छ । यो परिस्थितिमा नेताहरुका बीचमा घनिभूत छलफल हुने कुरा सकारात्मक  नै हो । तर स्थायी समितिको बैठक आयोजना भएको यति लामो समयसम्म पनि डेडलक जस्तो रहेको छ,’, उनी भन्छन्, ‘यसले थप अन्योलता सिर्जना गरेको छ । साथै, पार्टी कमिटीको महत्व र गरिमालाई कमजोर बनाउँछ भन्ने मलाई लाग्छ ।’ 

पार्टीभित्रको विवाद सामान्य किसिमको नभएकोकाले दुई अध्यक्षबीचको संवादले ने महत्व राख्ने गैरैले भनाइ छ ।

‘ पार्टीभित्र उत्पन्न भएको समस्या सामान्य प्रकृतिको छैन । त्यो अलि गम्भीर प्रकृतिको छ । त्यसले पनि यो परिस्थितिको निर्माण भएको छ । त्यसलाई हामीले मान्नुपर्ने हुन्छ’, उनी थप्छन्, ‘अब दुई अध्यक्षका बीचमा भइरहेको संवादले के निष्कर्ष निकाल्छ भन्नेले बढी महत्वपूर्ण अर्थ लाग्ने अवस्था छ । कति ठीक कति बेठीक आफ्नो ठाउँमा छ । तर, चाहेर वा नचाहेर परिस्थिति यहाँसम्म पुगेको छ ।’

नेकपा विवादको निकास नेत्तृत्व तहबाटै खोजिनुपर्ने गेरैको निष्कर्ष । तर, त्यो स्थायी कमिटीले पनि पारित गर्नुपर्ने उनको अडान छ ।

‘नेत्तृत्व तहबाटै निकास निकालिनुपर्छ । तर नेत्तृत्व तहबाट निकालिएको निष्कर्षको जस स्थायी कमिटीले लिनुपर्छ’, उनी भन्छन्, ‘स्थायी कमिटीबाट निर्णय हुनुपर्ने कुरा अनिवार्य छ । निष्कर्ष नेताहरुले गरे पनि अन्तिम निर्णय चाहिँ स्थायी कमिटीको बैठकबाट हुनुपर्छ ।  

  • प्रकाशित मिति : साउन ५, २०७७ साेमबार ११:१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया