‘धेरै वर्ष पछि आज फेरि झरी पर्यो
तिमीलाई नै सम्झेर हो कि हाँस्दाहाँस्दै आँसु झर्यो’
१८ वर्षअघि यश कुमारले गाएको यो गीतबारे कुरा गर्न सोमबार विहान उनलाई फोन गर्दा पनि पानी लगातार परिरहेको थियो । झरीको यो मौसममा यशकुमारसँग यो गीतको प्रसंग निकाल्दा उनी नोस्टाल्जिक भए ।
कोरोनाभाइरसका कारण भएको लकडाउन र आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि यशकुमार अहिले घरमै ‘थुनिएका’ छन् ।
र, आज झरी परिरहँदा तीर्खा एल्बमको यो गीत यशकुमारले सम्झिए, ‘त्यति बेला यो गीत मैले एकै बसाइँमा लेखेको थिएँ, विहानै ।’
अनि त्यति बेला यशकुमारले यो गीत लेख्दा पनि झरी परिरहेको नै थियो, यशकुमारले त्यही झरीमा यो गीतका शब्द बुनेका थिए ।
गीतमा यशकुमारले झरी र ट्र्याजिडीलाई जोडेका छन्, झरीसँग वियोगको कल्पना गरेका छन् ।
आखिर किन ?
‘प्रत्येक मान्छे प्रेमको उत्कर्षमा पुग्छ र बिछोडको पीडामा पनि रुनु पर्ने बाध्यतामा हुन्छ,’ यशकुमारले ती दिन सम्झिए, ‘मेरालागि त्यो समय यस्तै थियो ।’
त्यही समयको र त्यही पीडाको उपज हो, यशकुमारको धेरै वर्ष पछि आज फेरि त्यस्तै झरी पर्यो ।
‘तर, गीतका सबै लाइनमा मेरै कथा आएको चाहिँ होइन है,’ यशकुमार हाँसे, ‘धेरथोर भोगाइ चाहिँ मेरो नै हो ।’
आफ्नो र आफू वरपरका साथीहरुको भोगालाई यशकुमारले आफैं शब्दमा उतारे, संगीत भरे र स्वर दिए । यशकुमारको यो गीत चर्चाको शिखरमा पुग्यो ।
‘गाडीमा यात्रा गर्दा वा कतै होटलमा चिया खाना खाँदा यो गीत बजिरहेको सुन्थ्यो । मन गर्वले ढक्क फुल्थ्यो,’ उनले सम्झिए ।
योमात्र होइन, यो गीतसँग अनेक सम्झना यशकुमारसँग छन् । एउटा प्रसंग हो, उनको साथीको ।
‘मलाई धेरै पछि त्यो साथीले भनेको थियो– उसले आफ्नी प्रेमिकाको मन यही गीत गाएर जितेको रहेछ ।’
यी सब प्रसंग आफ्नो ठाउँमा भए । के यशकुमारलाई अरु कसैले यो गीतबारे नसोध्दा पनि यसको याद आउँछ त ?
‘हो, जबजब झरी पर्छ, मलाई यो गीतको याद आइहाल्छ,’ उनले भने, ‘अरु बेलामा चाहिँ म खासै यो गीत सम्झिन्नँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।