ओलीले तत्काल निकास दिनु पर्ने प्रचण्ड समूहको निष्कर्ष

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवादमा नयाँ ट्विस्ट एन्ड टर्न आउने क्रम जारी छ । केही दिनअघि मात्र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको अर्ली महाधिवेशनबारे सकारात्मक जवाफ दिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबारे आफ्नो नजर फेरेका छन् । 

ओलीले प्रस्ताव गरेको महाधिवेशनबारे छलफल हुनसक्ने प्रतिक्रिया दिएका प्रचण्डले अब फेरि यस विषयमा सकारात्मक हुन नसकिने सन्देश दिन थालेका छन् । 

उनीनिकट नेताहरुले त यसबारे प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुनै सहमती नभएको समेत बताएका छन् । 

‘खासमा यो बाहिर यसै आएको हल्ला हो,’ प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले फरकधारसँग भने, ‘ओलीसँग पछिल्ला दिनमा प्रचण्ड कमरेडको कुनै सहमती भएको छैन ।’

बरु प्रचण्ड निवासमा भएका पछिल्ला भेटघाटमा प्रचण्ड र अन्य नेताहरुले तत्काल ओलीले पछिल्लो विवादलाई निकास दिनु पर्ने निर्णय निकालेका छन् । ‘पार्टीमा सबै नेताहरुको चाहना एउटै छ, पछिल्लो समय समस्यामा परिरहेको देश र पार्टीलाई निकास दिन ओलीले पहल गर्नुपर्छ,’ सोमबार विहान प्रचण्ड निवासमा भएको छलफलमा सहभागी एक नेताले फरकधारलाई भनेका छन्, ‘यो कुरा स्थायी कमिटी बैठकले पनि निर्णय गर्नेछ । परिस्थिति सहज बनाउन प्रधानमन्त्री ओलीले निकास दिनुको विकल्प छैन ।’

उनले अहिले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने र यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले त्याग गर्न तयार हुनु पर्ने निष्कर्ष आफूहरुको रहेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : साउन ५, २०७७ साेमबार २२:६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया