मोबाइल मनी सेवा सञ्चालनको तयारीमा नेपाल टेलिकम
नेपाल राष्ट्र बैंकबाट पायो आशयपत्र, पूर्वाधार तयार गरी अन्तिम स्वीकृतिका लागि जाने टेलिकमको तयारी

 
नेपाल टेलिकमले युटिलिटी पेमेन्ट सर्भिससहितको भुक्तानी सेवा (मोबाइल मनी) सञ्चालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले टेलिकमलाई  मोबाइल मनी सञ्चालन गर्न आशयपत्र दिएसँगै भुक्तानी सेवाप्रदायकका रूपमा काम गर्न बाटो खुलेको हो ।

 

नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा मोबाइल मनी सेवा सञ्चालनका लागि राष्ट्र बैंकमा निवेदन दिएको थियो । आशयपत्र पाएसँगै सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको टेलिकमले  जनाएको छ ।

 

भुक्तानी सेवा सञ्चालन गर्न बैंक र टेलिकमले संयुक्त कम्पनी स्थापनालगायत आवश्यक पूर्वाधार जुटाएर ६ महीनाभित्र अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिनुपर्छ । आवश्यक अध्ययन गरी राष्ट्र बैंकले  अन्तिम स्वीकृति दिएपछि मात्र सेवा सञ्चालन पाउने राष्ट्र बैंकको भनाइ छ ।

 



टेलिकमले सञ्चालन गर्न लागेको मोबाइल मनी सेवा एक प्रकारको वालेट हो । नेपाल टेलिकमअन्तर्गतको मोबाइल नम्बर र वाणिज्य बैंकमा रहेको खाता नम्बर रजिस्टर गरेर एप्समार्फत सेवाग्राहीले विभिन्न किसिमको भुक्तानी गर्न सक्नेछन् ।


यसमा रिचार्जको सुविधा पनि हुनेछ । टेलिकमका अनुसार एप्समार्फत सबै प्रकारको कारोबार गर्न सकिनेछ । यसको बैंक सेटलमेन्टमा भूमिकामा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै दूरदराजमा रहेका मानिसमा पनि डिजिटल कारोबारको पहुँच पुग्ने विश्वास गरिएको छ । 



  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार १३:३३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया