एनआईसी एशिया बैंकले आफ्ना सेवा डिजिटल माध्यममा लैजाने क्रममा कर्मचारी सञ्चय कोषसँग सहकार्य गरेको छ । सहकार्यसँगै कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीले किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा कोषका मुख्य प्रबन्धक अर्जुनकुमार गौतमले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिएका ऋणीलाई किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने बताएको छ ।
डिजिटल बैंकिङ सेवामा अग्रणी स्थानमा रहेको बैंकले क्लियरिङ हाउससँगको सहकार्यमा विद्युतीय भुक्तानी सुविधा ल्याएको छ । यस व्यवस्थाअन्तर्गत जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालन गरेको कर्मचारी सञ्चय कोषका ऋणीले नेपाल क्लियरिङ हाउसको वेबसाइटमा लग इन गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्ने बैंकले जनाएको छ । योसँगै नगद तथा चेक बोकी बैंकको शाखामा कोषको किस्ता रकम भुक्तानी गर्नुपर्ने झन्झटबाट ग्राहक मुक्त हुने बैंकको विश्वास छ ।
बैंकले विद्युतीय भुक्तानी तथा डिजिटल सेवालाई अझ परिष्कृत बनाउँदै लैजाने उद्देश्य अनुरुप विद्युतीय भुक्तानी तथा सेवा क्षेत्रहरूमा समेत डिजिटल प्रणालीको विकास गरिरहेको छ । बैंकले देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक घर वा अफिसबाट सेवाग्राहीले आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्न भौचर भर्ने अनलाइन प्रणालीसमेत सुरु गरिसकेको छ ।
यसका साथै बैंकले मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत अनलाइन प्रणालीमार्फत सेवा दिइरहेको छ ।
साथै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्न बैंकले कार्डमार्फत भुक्तानी गर्दा देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने व्यवस्थासमेत गरेको छ ।
हाल बैंकले देशभर ३२६ शाखा, ४६४ एटिएम, १०१ एक्स्टेन्सन काउण्टर एवं ६१ शाखारहित बैंकिङमार्फत वित्तीय सेवा दिँदै आउको छ । २१ लाखभन्दा बढी ग्राहक रहेको बैंकको प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।