वीरगञ्ज– वीरगञ्जको कोभिड विशेष अस्पतालमा मृत्यु भएकी १७ वर्षीया एक किशोरीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । बारा परवानीपुर गाउँपालिका–४की किशोरीको वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको थियो ।
यसअघि उनी बुधबार नारायणी अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । उनको आरडिटी एन्टिबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा उनलाई बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।
आरडिटी पोजेटिभ देखिएपछि हेल्थ केयरमै स्वाब संकलन गरेर पिसीआर परीक्षणका लागि पठाइएको थियो । शुक्रबार साँझ आएको पिसिआर रिपोर्टअनुसार उनमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
उनमा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।