राष्ट्रिय टिमको प्रशिक्षण अघि खेलाडीहरुले क्वारेन्टिनमा बस्नुपर्ने
फाइल तस्बिर

विश्वभर महामरीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सरकारले लगाएको लकडाउन १२० दिनपछि अन्त्य भएको छ । गत चैत्र ११ बाट लगाएको लकडाउन गएको मङ्गलबार राति १२ बजेबाट अन्त्य भएको सरकारले घोषणा गरेको हो ।

खेलाडीहरुले लकडाउन अगाडिदेखि नै खेल्न पाएका थिएनन् सरकारले कोरोनाको बढ्दो जोखिमका काराण फागुन अन्तिम सातादेखि खेलकुदका गतिविधिहरु बन्द गर्ने निर्णय गरेको थियो ।

लकडाउनको अन्त्यसँगै सरकारले आगामि १ भदौबाट खेलाडीहरुलाई प्रशिक्षण गर्ने अनुमति दिएको छ । तर, कोरोनाको जोखिम कम नभएका कारण खेलाडीहरुले केही सावधानी भने अपनाउनु पर्नेछ ।

युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बनाउने मापडण्डअनुसार खेलाडीहरु प्रशिक्षणमा फर्कन पाउने छन् ।

सरकारको यो निर्णयसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि विश्वकप तथा एसिया कप छनोटको तयारीमा रहेका पुरुष राष्ट्रिय टिमलाई प्रशिक्षणमा बोलाएको छ । 
१ भदौ बाट प्रशिक्षण सुरु गर्ने तयारीमा रहेको एन्फाले उपत्यका बाहिर रहेका खेलाडीहरुलाई १७ साउनसम्ममा काठमाडौं आइसक्नु भनेर पत्रचार गरिसकेको एन्फा प्रवक्ता किरण राइले फरक धारलाई बताए ।

‘हामीले भदौ १ गतेबाट राष्ट्रिय टिमको प्रशिक्षण गर्ने तयारी गरिरहेका छौं । त्यसका लागि खेलाडीहरुलाई साउन १७ गतेसम्म काठमाडौं भित्र्याउने प्रयास भइरहेको छ’, उनले भने, ‘३० साउनसम्म खेलाडीहरुलाई कुनै होटलको क्वारेन्टिनमा राखिने छ । सो अवधिमा खेलाडीहरुको पिसिआर परिक्षणसमेत गरिने छ ।’



अहिले ललितपुर महानगरपालिकाले क्वारेन्टिनको रुपमा प्रयोग गरिरहेको एन्फा होस्टेललाई स्यानिटाइज गर्ने काम भइरहेको जानकारी दिँदै राईले भने, ‘ खेलाडीहरु प्रशिक्षणको केही दिनअघि होस्टलमा सर्नु हुनेछ ।’

खेलाडीहरुको पिसिआर रिपोर्टिङको आधारमा उनीहरुलाई प्रशिक्षणमा सहभागी गराइने तथा प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने राइले जानकारी दिए । 
नेपालले विश्वकप तथा एसियाकप छनोटको दोस्रो चरणअन्तर्गत तीन खेल खेल्न बाँकी छ । तीन वटै खेल घरेलु मैदानमा हुनेछन् ।



कोरोनाका कारण रोकिएका छनोट खेलहरु आगामि अक्टोवर–नोभेम्वरमा गराउन एसियाली फुटबल महासंघ (एएफसी) ले विश्व फुटबल महासंघ (फिफा)लाई प्रस्ताव गरेको थियो ।

स्थगित भएका खेलहरु आगामि अक्टोवर ८ र १३ तथा नोभेम्वर १२ र १७ तारिखमा गराउने प्रस्ताव गरिएको छ ।

छनोटअन्तर्गत समुह ‘बि’ मा रहेको नेपालले अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग खेल्न बाँकी छ । यसअघिका पाँच खेलमा चारमा हार तथा एकमा जित निकालेको नेपाल ३ अंकका साथ समुहको चौथो स्थानमा छ ।  

  • प्रकाशित मिति : साउन १०, २०७७ शनिबार १२:२८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया