पर्यटन व्यवसायीले मागे विद्युत् महशुलमा ५० प्रतिशत छुट
फाइल फोटो

विद्युत् महशुलमा ५० प्रतिशत छूट दिनुपर्ने माग पर्यटन व्यवसायीले  राखेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रवार साँझ ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कवापत ठूलो रकम विद्युत् प्राधिकरणलाई तिनुपर्दा व्यवसायी मारमा परेको भन्दै डिमान्ड शुल्क मिनाहा गर्नसमेत माग गरेको छ ।

 

बन्दाबन्दीका कारण ठमेलका व्यवसाय बन्द रहेको अवस्थामा विद्युत् युनिट उठेको आधारमा बन्दाबन्दी शुरु भएको मितिदेखि कम्तीमा दुई वर्षसम्म ५० प्रतिशत छूट दिन मन्त्रीसमक्ष आग्रह गरिएको विपद् समन्वय समितिका संयोजक एवं ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा ढुङ्गानाले जानकारी दिए । 

 

भेटमा ठमेल पर्यटन विकास परिषद्, ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान) नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा), नेपाल पर्वतारोहण संघ (एनएमए), होटल एशोसिएशन अफ नेपाल (हान), टुरिष्ट बस एशोसिएन अफ नेपाल (टिबान), नेपाल एशोसिएशन अफ रयाफ्टिङ एजेन्सिज (नारा), गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), नेपाल कैलाश यात्रा संघलगायत दुई दर्जन संस्थाका प्रतिनिधि सहभागी थिए । 

 



भेटमा ऊर्जामन्त्री पुनले बन्दाबन्दीका कारण मुलुकको हरेक क्षेत्रमा समस्यामा परेको भन्दै उक्त समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए । पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउन सरकारले कुनै कसरत बाँकी नराख्ने उनको भनाइ थियो ।

 



पर्यटन क्षेत्रलाई विद्युत् क्षेत्रमा दिने सहुलियतका बारेमा आफूले सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिबद्धतासमेत मन्त्री पुनले व्यक्त गरे ।
 

  • प्रकाशित मिति : साउन १०, २०७७ शनिबार १३:२१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया