‘सन्दीपले सिपिएल खेल्ने सम्भावना ५० प्रतिशत् मात्र’

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको यो सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) यात्रा अन्योलमा परेको छ । समयमा नै हवाइ टिकट मिल्ने सम्भावना कम भएपछि लेग स्पिनर सन्दीपको सिपिएल खेल्ने सम्भावना कम भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन शिवाकोटीले सन्दीपले आइपिएल खेल्ने सम्भावना ५० प्रतिशत् मात्र रहेको बताए ।

‘अहिलेको अवस्था हेर्दा सन्दीपले सिपिएल खेल्ने ५० प्रतिशत् चान्स मात्र छ । यद्यपि हामीले प्रयास गरिहेका छौं’, सन्दीपका व्यवस्थापकसमेत रहेका शिवाकोटीले फरक धारसँग कुरा गर्दै भने, ‘यसको ढुङ्गो एक–दुई दिनमा नै लाग्ने छ ।’

सन्दीपको हवाइ टिकटका लागि विभिन्न निकायहरुसँग छलफल गरिहेको व्यवस्थापक शिवाकोटीले बताए ।

‘हवाइ टिकटका लागि विभिन्न निकायसँग छलफल गरिरहेका छौं’, उनी भन्छन्, ‘अबको एक–दुई दिनभित्र टिकट मिल्यो भने मात्र सन्दीप सिपिएल खेल्न जानेछन्, नत्र सिपिएल यात्रा क्यान्सिल हुन सक्छ ।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमअनुसार कुनै पनि प्रतियोगिता अगाडि खेलाडी १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ । त्यसका लागि सन्दीप जुलाईको अन्तिम वा अगस्टको १–२ तारिख भित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने हुन्छ ।



सिपिएलको यो सिजना अगस्ट १८ देखि सेप्टेम्बर १० (भदौ २ देखि २५)सम्म ट्रिनिडाड एण्ड टोबागोमा हुँदैछ ।



नेपालमा लकडाउन खुलेता पनि अन्तर्राष्ट्रिय हवाइ उडान भने आगामि १ भदौबाट मात्र खुल्नेछ ।

१ भदौपछि जाने सम्भावना निकै कम छ, हवाइ बाहेकको अन्य विकल्प पनि छैन । त्यसैले सरकारले अबको केही दिन भित्रमा नै हवाइ यात्राको व्यवस्था मिलाइ दिए मात्र सन्दीपले यो सिजनको सिपिएल खेल्न सक्ने व्यवस्थापक शिवाकोटीले बताए ।

सिपिएलको तेस्रो सिजन खेल्ने तयारीमा रहेका सन्दीपलाई यो सिजनमा जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको हो ।

सन्दीपले पहिलो सिजन सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्स तथा दोस्रो सिजन बर्वाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । पहिलो सिजनमा ५ हजार तथा दोस्रो सिजनमा ७० हजार अमेरिकी डलरमा उनी अनुबन्धित भएका थिए । 

  • प्रकाशित मिति : साउन १०, २०७७ शनिबार १४:१८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया