नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालको नक्सा प्रकाशनसम्बन्धी दिएको अभिव्यक्तिको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिवाद गरेका छन् ।
शनिवार सामाजिक सञ्जालमार्फत पोखरेल र थापाले प्रधानमन्त्री भएका बेला नेपालको नक्साबारेमै जानकार नहुनेले आफ्नो अध्यक्षताको बैठकले निर्देशन दिएअनुसार सरकारले नक्सा प्रकाशन गरेको भ्रामक अभिव्यक्ति दिएर जस लिन खोजेको भन्दै कडा प्रतिवाद गरेका हुन् ।
‘कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो,’ मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाह नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?’
पुष्पलाल मित्रता केन्द्रले शुक्रावार आयोजना गरेको कार्यक्रममा दाहालले आफूले अध्यक्षता गरेको स्थायी समिति केन्द्रीय कमिटी बैठकको निर्देशन र सचिवालय बैठकको निर्णयअनुसार मात्र नक्सा प्रकाशन भएको बताएका थिए ।
नीति तथा कार्यक्रममै नपरेको नक्सा प्रकाशन सचिवालयको निर्णयपछि प्रधानमन्त्री सच्याउन बाध्य भएको भन्दै दाहालले अहिले आफूहरुलाई राष्ट्रघाती करार गर्न खोजिएको बताएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने नेकपाको केन्द्रीय कमिटी र स्थायी समिति दुवैले नक्साका विषयमा पारित गरेको निर्णयसम्बन्धी प्रस्ताव नै उद्धृत गरेर तथ्यविपरित भ्रम फैलाउन खोजेको आरोप दाहाललाई लगाएका छन् । ‘कसको कुन हीनग्रन्थी रसाएर यो सब अभिव्यक्ति आइरहेको छ ?’ अभिव्यक्तिमाथि आपत्ति जनाउँदै थापाले भनेका छन् ।
पार्टीले भन्नु र सरकारले गर्नु वा नेताले सुझाव दिनु र प्रधानमन्त्रीले सुझाव ग्रहण गर्नुमा अचम्मित हुनुपर्ने त कुनै कारण हुँदैन भन्दै थापाले मात्र निर्देशन दिएको भरमा हुने यति सजिलो काम किन आफैले नगरेको होला ? भन्ने प्रश्नसमेत उठाएका छन् ।
स्थायी समिति र केन्द्रीय कमिटीको बैठकको प्रस्तावहरूमा कहीँ कतै नक्सा प्रकाशन गर्न निर्देशन दिएको अर्थ र आशयसम्म लाग्ने कुनै शब्द, वाक्य, प्रस्ताव र भनिएजस्तो निर्देशन नभएको भन्दै दुनियाँ र निर्णय गर्ने केन्द्रीय कमिटीका सदस्यहरूलाई मूर्ख बनाउने अनुचित प्रयास पुष्टि नहुने समेत उल्लेख गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।