सोमबारदेखि भारी वर्षाको सम्भावना, बाढी–पहिरोको पुनः जोखिम

पछिल्ला केही दिन केही निस्कृय रहेको मनसुन सोमबारदेखि पुनः सक्रिय हुने देखिएकोे छ ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मनसुन पुनः सक्रिय हुने देखिएको मौसमविद् गंगा नगरकोटीले बताइन् ।

यस वर्ष नेपालमा गत जेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो । त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा बाढीपहिरोले जनधनको समेत क्षति भएको थियो ।

त्यसयता पटकपटक ठाउँठाउँमा भारी वर्षा भयो । असार २५ देखि २९ सम्म न्यूनचापीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो ।

सोही वर्षाका कारण म्याग्दी, कास्की, जाजरकोट र सिन्धुपाल्चोकमा ठूलाठूला पहिरो खसेर जनधनको क्षति भएको थियो ।

गत साउन ४ देखि ६ गतेसम्म पुनः न्यूनचापीय रेखा नेपाल नजिक पर्दा मनसुनी वर्षा भएको थियो । यसले मुलुकका धेरै ठूला नदीमा बहाव ह्वात्तै बढ्न गई नारायणी, कोसीलगायत नदी खतराको तहसमेत पार गर्दा ठाउँठाउँमा डुबानसमेत भएको थियो भने कतिपय स्थानमा पहिरो खसेर जनजीवन प्रभावित बनाएको थियो ।



सबै मनसुनी वर्षा आउनुपूर्व नै सरकारले जोखिमको चेतावनी दिँदै सतर्कता अपनाउन भने पछि अकस्मात खसेको पहिरोले धेरै मानिसको ज्यान लियो ।

सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावनासमेत रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन केही दिन रहने जनाइएको छ ।



नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने जनाइएको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रिमनसुनको समयदेखि नै भारी वर्षा भएकाले यसपटक जमिन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर भित्र चलायमान गराएको भूगर्वविदको भनाइ छ ।

भूगर्वविद् शिव बाँस्कोटाले पहिले गएका पहिरो सक्रिय हुनसक्ने तथा जमिन गलिसकेकाले थोरै पानी पर्दासमेत अन्य क्षेत्रमा समेत पहिरो खस्नसक्ने तथा नदीमा एक्कासि बाढी बढ्ने भएकाले थप सतर्कता अपनाउनुपर्ने बताए ।
 

  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार ७:२५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया